अमेरिकामा एफ-१६ लडाकु विमान दुर्घटना, प्यारासुटले जोगायो पाइलट
एजेन्सी : अमेरिकाको क्यालिफोर्नियामा बिहीबार अमेरिकी वायु सेनाको एक एफ-१६ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ।
दुर्घटना हुनुभन्दा केही सेकेन्ड अगाडि पाइलटले ‘इजेक्ट’ गरेर प्यारासुटमार्फत सुरक्षित अवतरण गरेकाले उनको ज्यान जोगिएको छ।
स्थानीय समयअनुसार बिहान करिब १०:४५ बजे दक्षिणी क्यालिफोर्नियाको ट्रोना सहर नजिकैको मरुभूमि क्षेत्रमा सो विमान खसेको हो।
ट्रोना विमानस्थलका प्रबन्धकका अनुसार विमान विमानस्थलबाट करिब ३ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको हो। यो क्षेत्र अक्सर सैन्य अभ्यासका लागि प्रयोग हुने गर्छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजमा विमान तीव्र गतिमा तल खस्दै गरेको र जमिनमा ठोक्किएर ठूलो विष्फोट भएको देखिन्छ।
विष्फोटपछि आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो। सोही क्रममा पाइलट प्यारासुटको सहायताले सुरक्षित रूपमा जमिनमा ओर्लिएको देखिएको छ।
पाइलटलाई सामान्य चोट लागेको र उपचारका लागि अस्पताल लगिएको अमेरिकी वायु सेनाको थन्डरबर्ड्स टिमले जनाएको छ। स्थानीय अग्नी नियन्त्रक विभागका अनुसार दुर्घटनास्थलमा आगोले वरपरको बस्ती वा क्षेत्रमा कुनै खतरा पुर्याएको छैन।
दुर्घटनामा परेको विमान अमेरिकी वायु सेनाको प्रख्यात 'थन्डरबर्ड्स स्क्वाड्रन' को थियो। यो टिम लास भेगासस्थित नेलिस एयरफोर्स बेसबाट सञ्चालन हुन्छ र खतरनाक हवाई स्टन्ट तथा एयर शोका लागि विश्वभर परिचित छ।
सन् २०२१ को तथ्याङ्क अनुसार एउटा एफ-१६ फाइटिङ फाल्कनको मूल्य करिब १ करोड ८८ लाख अमेरिकी डलर (करिब १ खर्ब ७० अर्ब नेपाली रुपैयाँ) पर्छ।
अधिकारीहरूका अनुसार बिहीबार बिहान ६ वटा थन्डरबर्ड्स जेट तालिमका लागि उडेका थिए, तर ५ वटा मात्र फर्किए। दुर्घटनाको यकिन कारण अझै खुल्न सकेको छैन। अमेरिकी वायु सेनाले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
मंसिर १८, २०८२ बिहीबार १०:२५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।