एनपीएलमा जुवा र रक्सीको रजगज : क्यानको जवाफपछि गृह मन्त्रालय गुहार्दै विज्ञापन बोर्ड, ‘पत्र-पत्र’ खेल्दै सरकारी निकाय

एनपीएलमा जुवा र रक्सीको रजगज : क्यानको जवाफपछि गृह मन्त्रालय गुहार्दै विज्ञापन बोर्ड, ‘पत्र-पत्र’ खेल्दै सरकारी निकाय

काठमाडौं : नेपाली क्रिकेटको उत्सवका रूपमा लिइएको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण खेलाडीको खेलभन्दा पनि आयोजकको जालझेलका कारण विवादमा तानिएको छ।

एकातर्फ नेपाल प्रहरीले एनपीएलका खेलमा सट्टेबाजी गरेको आरोपमा धमाधम मानिस पक्राउ गरिरहेको छ भने अर्कोतर्फ प्रतियोगिताको मुख्य आयोजक नेपाल क्रिकेट संघ तिनै सट्टेबाजी र मदिरा कम्पनीहरूको ‘सरोगेट’ विज्ञापन गर्न तल्लीन देखिएको छ।

विज्ञापन बोर्डले सोधेको स्पष्टीकरणमा समेत क्यानले गैरजिम्मेवार जवाफ फर्काएर नियामकलाई झुलाएपछि यो विषय थप पेचिलो बनेको छ।

अहिले त्रिवि क्रिकेट मैदानम जुवा खेलाउने एप ‘डाफाबेट’को सरोगेट ‘डाफान्यूज’ र मदिरा ब्रान्ड ‘गोल्डेन वक’ को सरोगेट ‘गोल्डेन वक ड्रिङ्किङ वाटर’ को लोगो मैदानको बाउन्ड्री लाइनमा छ्यापछ्याप्ती छन्।

यस विषयमा उकेरामा समाचार प्रकाशित गरेपछि विज्ञापन बोर्डले मंसिर ३ गते क्यानलाई ७ दिनभित्र जवाफ पेश गर्न पत्र काटेको थियो। जसको जवाफ क्यानले पठाइसकेको छ।

बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंका अनुसार क्यानले पत्रको जवाफ पठाउँदै आफ्नो बचाउ गरेको छ। हुमागाईंका अनुसार क्यानले आफ्नो कदमको बचाउमा ‘हामीले प्रचार गरेको डाफान्यूज एक समाचार पोर्टल हो र गोल्डेन वक प्रिमियम खानेपानी हो’ भन्ने तर्क गरेको छ।

तर, क्यानको यो जवाफलाई विज्ञापन बोर्डले ‘कामै टार्ने बहाना’ का रूपमा लिएको छ।

अध्यक्ष हुमागाईं भन्छन्, ‘क्रिकेट संघले ती ब्रान्डलाई पानी र न्यूज साइट भनेर दाबी गरे पनि यो सरासर सरोगेट विज्ञापन हो भन्ने हाम्रो ठहर छ। कानुनले वर्जित गरेका वस्तुको घुमाउरो प्रचार रोक्न अब हामी गृह मन्त्रालयलाई पत्र पठाएर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारीमा छौँ।’

पहिलो सिजनमै सरोगेट विज्ञापनबारे प्रश्न उठेपछि २०८२ भदौ १२ गते बोर्डले एक पत्र काटेर क्यानले सरोगेट नल्याउन सचेत गराएको थियो भने डाफान्यूज डाफाबेटको सरोगेट कम्पनी भएको निष्कर्ष निकाल्दै डाफान्यूजलाई नेपालमा प्रचारप्रसार गर्न प्रतिबन्ध समेत लगाएको थियो।

यसरी बोर्डले जुवा खेलाउने कम्पनीको सरोगेट कम्पनी भएको भन्दै कारबाही नै गरेको कम्पनीको प्रचार हुदाँ समेत बोर्डका अध्यक्ष भने कानुन नभएकोले थप कारबाही गर्न नसकिएको बताउँछन्।

उनले भने, ‘हामीले सरोगेट कम्पनीको विषयमा नीतिमै प्रस्ताव गरेका छाैँ। यो त कानुन नै संशोधन गर्नुपर्छ अहिलेको कानुन निष्क्रिय देखिन्छ यो विषयमा।’

‘पानी’ को आवरणमा मदिराको प्रचार
क्यानले ‘गोल्डेन वक’ लाई पानी भनेर दाबी गरे पनि स्थलगत र कागजी तथ्यले अर्कै कथा बोल्छ। ‘गोल्डेन वक’ नेपालको चर्चित मदिरा ब्रान्ड हो।

नेपालको कानुनले जुवाको प्रचार गर्न नपाइने भएपछि यसको प्रचारका लागि ‘गोल्डेन वक ड्रिङ्किङ वाटर’ को नाम दिइएको छ।

यो कम्पनीमा हिमालयन डिष्टिलरीको लगानी रहेको खुलेको छ। कम्पनीका कर्मचारी नेत्र तिमलसिनाले उद्योग विभागमा कम्पनी दर्ता रहेको र ट्रेडमार्क लिएको भन्दै यो काम वैध भएको दाबी गरे।

तर, वास्तविकतामा यो कम्पनीले पानी उत्पादन नै गर्दैन। यसले वीरगञ्जबाट केवल बोतल मात्र उत्पादन गर्छ। पानी भर्ने काम भने नुवाकोटको ‘दुवाल ब्रदर्स प्रालि’ लाई जिम्मा दिइएको छ।

दुवाल ब्रदर्सका सुन्दरमान दुवालले भने, ‘हाम्रो कम्पनीले सबै उत्पादन गर्दैन। वीरगञ्जबाट बोतल आउँछ, हामीले पानी भरिदिने मात्र हो।’

यो ब्रान्डको पानी बजारमा भेटिँदैन। उकेराकर्मीले बजारका मुख्य-मुख्य डिपार्टमेन्टल स्टोर तथा सामान्य पसलमा यो पानी खोज्दा समेत भेटाउन सकिएन।

बजारमा नगन्य उपस्थिति रहेको पानीको नाममा करोडौंको मदिरा ब्रान्डको प्रचार गर्नु नै ‘सरोगेट विज्ञापन’ को मुख्य उद्देश्य रहेको स्पष्ट हुन्छ।

क्यानको ‘मिडिया पार्टनर’ नै सट्टेबाजीको अखडा
एनपीएलको मैदानमा सबैभन्दा ठूलो विरोधाभास ‘डाफान्यूज’ को उपस्थितिमा देखिएको छ। क्यानले यसलाई ‘मिडिया पार्टनर’ र समाचार पोर्टल भने पनि यो विश्वप्रसिद्ध सट्टेबाजी कम्पनी ‘डाफाबेट’ को सहायक ब्रान्ड हो।

उकेराले प्राप्त गरेको विवरणअनुसार डाफाबेटले एनपीएल सुरू भएदेखि नै टिम र खेलअनुसार अनलाइन जुवा खेलाइरहेको छ। साइटमा एनपीएलका हरेक खेलको ‘बेटिङ रेट’ तोकिएको छ।

विज्ञापन बोर्डले गत भदौ १३ गते नै सूचना जारी गर्दै ‘डाफान्यूज’ लगायतका बेटिङ साइटका विज्ञापनमा प्रतिबन्ध लगाएको थियो। तर, बोर्डको निर्देशन लत्याउँदै क्यानले सोही कम्पनीको लोगो त्रिवि मैदानमा लगाएको छ।

सट्टेबाज खोरमा, प्रचारक मञ्चमा
नियामक निकायको लाचारीले एनपीएलको नाममा सट्टा खेल्नेहरू प्रहरीको खोरमा पुगेका छन् भने सट्टा खेलाउने कम्पनीको ठूला-ठूला बोर्ड राखेर गरिएको विज्ञापन मैदानमै छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक सातअघि बल्खुबाट ८ जना भारतीय नागरिकलाई पक्राउ गर्यो। पक्राउ पर्नेमा भारत आन्ध्रप्रदेशका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु लगायत छन्।

प्रहरीका अनुसार यी व्यक्तिहरू अनलाइन बेटिङ साइटमार्फत खेलको हारजितमा रकम लगानी गरी सट्टेबाजीमा संलग्न थिए। उनीहरूको साथबाट १५ थान मोबाइल बरामद गरिएको छ।

यसअघि पनि प्रहरीले म्याच फिक्सिङको प्रयास गरेको आरोपमा एक भारतीय र एक नेपालीलाई पक्राउ गरेको थियो। हरियाणाका दिलप्रित सिंह र बर्दियाकी रेविका सिंह ठकुरीले खेलाडीलाई ‘नो बल’ फ्याँकेबापत एक करोड रुपैयाँसम्म दिने प्रस्ताव राखेको अनुसन्धानबाट खुलेको थियो।

नेपालको कानुनले सट्टेबाजीलाई गैरकानुनी भन्छ। सट्टेबाजी गर्नु, गराउनु, गर्न प्रोत्साहित गर्नु कानुन विपरीतका काम हुन्। तर, यहाँ सट्टा खेल्ने पक्राउ पर्दा सट्टेबाजी कम्पनीको विज्ञापन गरेर प्रोत्साहन गर्ने आयोजक र प्रायोजकहरू भने ठाँटका साथ हिँडिरहेका छन्।

‘पत्र-पत्र’ खेल्दै सरकारी निकाय
जुवा र मदिराको सरोगेट विज्ञनपनले मैदानमा कानुनको धज्जी उडाइरहँदा नियमनकारी निकायहरू एक्सनमा उत्रनुको साटो एक-अर्कालाई जिम्मेवारी पन्छाउँदै पत्र-पत्र खेल्नै व्यस्त छन्।

विज्ञापन बोर्डले क्यानलाई पत्र पठाउँदा जवाफमा ‘नेपालमा यससम्बन्धी स्पष्ट कानुन नभएको’ भनेर आइसकेपछि ऊ आफैँ बिलखबन्दमा परेको छ। उसले यसबारेमा कारबाही गर्न कानुन अस्पष्ट रहेको र आफ्नो क्षेत्राधिकार सीमित रहेको भन्दै गृह मन्त्रालय गुहार्ने तयारीमा छ।

गत वर्ष प्रहरीले त्रिवि क्रिकेट मैदानको अनुगमन गर्दा अनलाइन जुवाको प्रचार भएको भन्दै रिपोर्ट नै तयार पारेर पठाउँदा समेत कारबाही नगरेको गृह मन्त्रालयले सञ्चार मन्त्रालयमा पठाइदिएको थियो। यसपटक पनि गृहका प्रवक्ताले ‘उजुरी परे प्रहरीले हेर्ने’ भन्दै पन्छिएका छन्।

उता सञ्चार मन्त्रालयले भने यसलाई नीतिबाटै रोक्नुपर्ने भएकाले त्यसका लागि कानुन निर्माणको अन्तिम चरणमा रहेको बताए।

सूचना अधिकारी रविन्द्र प्रसाद पाैडेलले उकेरालाई भने, ‘सरोगेटको बारेमा नीति बन्दैछ। अन्तिम चरणमा पुगेको छ। पारित हुन समय लाग्ला। गोल्डेन वक रक्सीको सरोगेट कम्पनीको पानी विक्री वितरण भएको छ कि छैन भनेर हेर्ने काम पनि विज्ञापन वोर्डले नै हेर्छ।’

त्यसैगरी खेलकुद क्षेत्रको सर्वोच्च निकाय खेलकुद मन्त्रालयका मन्त्री बब्लु गुप्ताले विज्ञापन हटाउन निर्देशन दिएको बताएका छन्। मैदानमा सरोगेट कम्पनीको विज्ञापन भएपछि उनी उद्घाटनमा समेत गएनन् तर पनि मैदानबाट विज्ञापन हटेको छैन। मन्त्रालयले पठाएका कैयन पत्रहरूको क्यानले जवाफसमेत फर्काएको छैन।

यता सत्य सेवा सुरक्षणम् भन्दै अपराध नियन्त्रणको जिम्मेवारी पाएको प्रहरीले भने मैदानमा जुवा र रक्सीको प्रचार नगरिएको भन्दै क्यानको बचाउ गरेको छ। काठमाडौं प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले सुरुमा ‘जुवा र रक्सीको प्रचार नगरिएको’ भन्दै क्यानको बचाउ गरे।

प्रहरीले सार्वजनिक कसुरमा स्वतः अनुसन्धान गर्न सक्ने भए पनि यस विषयमा आँखा चिम्लिएको देखिन्छ।

विवाद क्यानको केन्द्रीय व्यवस्थापनमा मात्र सीमित छैन। एनपीएलको फ्रेन्चाइज टिम ‘सुदूरपश्चिम रोयल्स’ ले आफ्नो जर्सीमा ‘बाजी’ नामक अर्को अनलाइन बेटिङ कम्पनीको सरोगेट विज्ञापन राखेर खेलिरहेको छ।

यसबाहेक, प्रसारण अधिकार र ओटिटी प्लेटफर्म बिक्रीमा पनि आर्थिक अनियमितताको गन्ध आएको छ। ७७ लाख रुपैयाँ कम कबोलेको ‘कान्तिपुर म्याक्स’ लाई टेलिभिजन प्रसारण अधिकार दिइएको विषय र ओटिटीको ठेक्का प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाएको छ।

मंसिर १८, २०८२ बिहीबार १०:१९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।