किराँत समुदायले आज उँधौली पर्व धुमधामसँग मनाउँदै, धान्यपूर्णिमा र यःमरि पुन्हि पनि आजै

किराँत समुदायले आज उँधौली पर्व धुमधामसँग मनाउँदै, धान्यपूर्णिमा र यःमरि पुन्हि पनि आजै

काठमाडौं : मंसिर शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले आफ्नो महान् पर्व उँधौली धुमधामका साथ मनाउँदैछन्। यस पर्वलाई पितृको सम्मान र प्रकृतिको पूजाका रूपमा लिइन्छ।

किराँत समुदायभित्रका विभिन्न जातिले यो पर्वलाई फरक-फरक नामले पुकार्ने गर्छन्। याक्खाले ‘चासुवा’, सुनुवारले ‘फोलस्यादर’, राईले ‘उँधौली सकेला’ र लिम्बूहरूले ‘चासोक तङ्नाम’का नाममा यो पर्व मनाउँछन्।

लिम्बू समुदायले भने तीन दिनअघिदेखि नै चासोक तङ्नाम मनाउन सुरु गरिसकेका छन्। नाम फरक भए पनि समग्रमा यसलाई ‘उँधौली’का रूपमा चिनिने किराँत संस्कृतिविद् कीर्तिकुमार दुमी राई बताउँछन्।

किराँत समुदायले आफूले लगाएको नयाँ अन्नबाली पाकेपछि इष्टदेवता र पितृलाई चढाएर मात्र खाने परम्परा छ। बाली लगाउने बेलामा वैशाख शुक्ल पूर्णिमामा ‘उँभौली’ मनाइन्छ भने बाली भित्र्याउने बेलामा ‘उँधौली’ मनाइन्छ। उँभौलीमा बाली राम्रो होस् भनी कामना गरिन्छ भने उँधौलीमा अन्न फलाएकोमा भूमिलाई धन्यवाद दिइन्छ।

संस्कृतिविद् राईका अनुसार उँभौली र उँधौलीले मानिसको बसाइँसराइ र ऋतु परिवर्तनलाई सङ्केत गर्छन्। जाडो मौसम सुरू भएपछि लेकबाट बेसी झर्ने भएकाले ‘उँधौली’ र गर्मी सुरु भएपछि बेसीबाट लेक उक्लने भएकाले ‘उँभौली’ भनिएको हो।

पर्वका अवसरमा आज बिहानैदेखि किराँत समुदायका मानिसहरू जातीय वेशभूषामा सजिएर भेला भएका छन्। उनीहरू च्याब्रुङ र ढोलको तालमा साकेला, चण्डीनाच लगायतका परम्परागत नाच नाचेर मनोरञ्जन गर्छन् । ललितपुरको ऐतिहासिक सानो हात्तीवनमा आज विशेष मेला लाग्ने गर्छ।

आजकै दिन खस आर्य समुदायले धान्य पूर्णिमा र नेवार समुदायले यःमरि पुन्हि (योमरी पूर्णिमा) मनाउँदैछन्। सबै पर्वको साझा उद्देश्य नयाँ अन्नबाली देवतालाई चढाएर खुसी मनाउनु हो। सरकारले उँधौली पर्व र योमरी पूर्णिमाका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ।

मंसिर १८, २०८२ बिहीबार ०८:१९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।