कोहली र गायकवाडको शतक छायामा, ३५९ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाको शानदार जित
काठमाडौं : भारतको रायपुरमा सम्पन्न दोस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ४ विकेटले पराजित गरेको छ।
उच्च स्कोर बनेको यस रोमाञ्चक खेलमा ३५९ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४९.२ ओभरमा ६ विकेट गुमाउँदै जित हासिल गर्यो।
यो जितसँगै तीन खेलको एकदिवसीय शृङ्खला १-१ को बराबरीमा पुगेको छ।
विशाल लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका लागि ‘प्लेयर अफ द म्याच’ बनेका एडिन मार्क्रमले सानदार ब्याटिङ गरे। उनले ९८ बलमा १० चौका र ४ छक्काको मद्दतले ११० रनको शतकीय पारी खेले।
उनलाई म्याथ्यु ब्रिट्ज्केले ६८ रन र डेवाल्ड ब्रेभिसले विस्फोटक ५४ रन बनाएर बलियो साथ दिए। अन्त्यमा कोर्बिन बोस्चले १५ बलमा २९ रनको अविजित पारी खेल्दै टोलीलाई ४ बल अगावै जित दिलाए।
भारतका बलर अर्शदीप सिंह र प्रसिद्ध कृष्णले २-२ विकेट लिए पनि दक्षिण अफ्रिकाको रन गति रोक्न सकेनन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल तयार पारेको थियो । भारतका लागि रुतुराज गायकवाड र विराट कोहली दुवैले शतक प्रहार गरे।
गायकवाडले ८३ बलमा १२ चौका र २ छक्कासहित १०५ रन बनाए भने विराट कोहलीले ९३ बलमा १०२ रनको योगदान दिए। यी दुईबीच तेस्रो विकेटका लागि १९५ रनको साझेदारी भएको थियो।
कप्तान केएल राहुलले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै ४३ बलमा ६६ रन जोडे।
मंसिर १८, २०८२ बिहीबार ०७:५३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।