एनपिएलमा लुम्बिनीको तेस्रो जित, ६ अंकसहित तालिकामा चौथो स्थानमा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधवार भएको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पाँच विकेटले हराएर प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ। टस जितेर ब्याटिङ बलिङ रोजेको लुम्बिनीलाई विराटनगरले १ सय ४५ रनको लक्ष्य दिएको थियो। लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
लुम्बिनीले एनपिएलमा ६ खेल खेलेर तेस्रो जित निकाल्दै ६ अंक जोडेको छ। बुधवारको खेल जितेसँगै लुम्बिनी चौथो स्थानमा पुगेको छ। लुम्बिनीले लिगको अन्तिम खेल जनकपुर बोल्ट्ससँग शुक्रवार खेल्दैछ। अन्तिम खेल जितेमा लुम्बिनी प्लेअफ पुग्न सक्छ।
६ खेल खेलेको विराटनगरले पनि अन्तिम खेल खेल्न बाँकी छ। उसले ४ खेल जितेर ८ अंक जोड्दै अंक तालिकामा तेस्रो स्थानमा छ। विराटनगरले लिगमा अन्तिम खेल शनिवार सुदूरपश्चिम रोयल्सँग खेल्नेछ। सुदूरपश्चिम प्लेअफमा पुगिसकेको छ। मंगलबारको खेल जितेर पोखरा एभेन्जर्स रनरेटको आधारमा ४ अंकसहित चौथोमा रहेकोमा बुधवार लुम्बिनीको जितसँगै पाँचौमा झरेको छ।
मंसिर १७, २०८२ बुधबार १९:४३:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।