कुलमानले भने “राम्रो भाषण गर्न आउँदैमा परिवर्तन गर्न सकिँदैन”
काठमाडौं : ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावले एउटा परिवर्तनलाई संस्थागत गर्ने बताए।
उज्यालो नेपाल पार्टीको घोषणा सभामा बोल्दै उनले भने, “देशलाई फेरि पहिलाकै अवस्थामा कसरी लाने भन्ने कुरा एकदमै महत्त्वपूर्ण छ र त्यो महत्त्वपूर्ण जिम्मेवारीमा हामी छौँ। यो परिवर्तनबाट देशले निकास पाउनु पर्छ भनेर लागेका छौ। अब फागुन २१ को चुनावले एउटा परिवर्तनलाई संस्थागत गर्ने छ।”
उनले राजनीतिक परिवर्तन र भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माणको एजेन्डामा भने असफल हुन सक्ने बताए।
यदि सही व्यक्ति छानिएन र आफ्ना व्यक्तिहरू, हाम्रा व्यक्तिहरू छानियो भने देश परिवर्तन हुन गाह्रो हुने भन्दै भाषण गर्न सक्ने व्यक्ति समृद्धिको एजेन्डामा असफल हुन सक्ने बताएका हुन्।
“सही व्यक्ति, सही समयमा, सही ठाउँमा हुनुपर्छ। त्यसपछि देश परिवर्तन हुन्छ। त्यसपछि ठूलो परिवर्तन सम्भव हुन्छ। यदि सही व्यक्ति छानिएन, आफ्ना व्यक्तिहरू, हाम्रा व्यक्तिहरू छानियो भने देश परिवर्तन हुन गाह्रो छ।”
उनले राजनीतिक परिवर्तन गर्न, भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माण र समृद्धिको एजेन्डामा असफल हुन सक्ने भन्दै भाषणले होइन कामले गर्नुपर्ने र परिणाम दिनुपर्ने बताए।
उनले सही व्यक्तिहरूको छनोट गरेर सचिवदेखि तलसम्मको जिम्मेवारी दिएको भए आजको अवस्था सिर्जना नहुने बताए ।
सुशासन, समृद्धि र सामाजिक न्यायका लागि सुशासन चाहिने भन्दै उनले हरेक राजनीतिक परिवर्तन पछिका नेता, सरकार सफल नहुनुमा राजनीतिक परिवर्तनमा अब्बल देखिए पनि विकासको एजेन्डामा सफल हुन नसकेको बताए।
राजनीतिक परिवर्तन, सिस्टम र आइडोलोजिले मात्र देश नबन्ने भन्दै देश राम्रो बनाउन सही नेतृत्व जरुरी भएको बताए।
मंसिर १७, २०८२ बुधबार १७:१७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।