उज्यालो नेपाल पार्टीको समस्या कुलमानको एकल वर्चस्व : राजावादीको उपस्थिति, राजनीतिक रूपमा अस्पष्ट
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको प्रमुखको रूपमा ऊर्जा क्षेत्रमा गरेको कामको साखको बलमा राजनीतिमा सक्रिय भएका कुलमान घिसिङले बुधवार औपचारिक रूपमा पार्टीको घोषणा गरे।
पार्टीको नेतृत्व तहमा नबसे पनि यसको मूल व्यक्ति उनी नै हुन्। चुनावी सरकारमा मन्त्री भएकाले पार्टीको निर्णायक पदमा बस्न नमिले पनि पार्टी निर्वाचनमा उनकै नेतृत्व र अनुहारमा सहभागी हुने तयारी गरेको छ।
प्राधिकरणमा रहँदा लोडसेडिङ हटाउने लगायतका काममा पाएको जसलाई क्यास गरेर राजनीतिमा प्रभाव बढाउन कस्सिएका उनको दललाई जेनजी आन्दोलनपछि नयाँ शक्तिको उदय गराउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतकाहरु सक्रिय भएका थिए।
प्रारम्भमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा स्थापित गराएर अगाडि बढ्ने तयारी गरे पनि रविको विकल्प खोज्न रास्वपाका नेताहरू सहमत नभएपछि उनी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका थिए।
नयाँ पार्टी खोले पनि त्यसलाई एकल व्यक्तिको ब्रान्डको रूपमा निर्माण नगरी साझा अवधारणा अनुसार निर्माण गर्न नामदेखि चुनाव चिन्हसम्मको विषयमा सुमना श्रेष्ठ लगायतकाहरु सक्रिय भएका थिए।
नाम उज्यालो नेपाल अनि चुनाव चिन्ह बिजुलीको चिम राख्दा कुलमान केन्द्रित देखिने भन्दै साझा अवधारणामा नाम र चुनाव चिन्ह चयन गर्न भएको छलफल सहमतिमा नपुगेपछि सुमनासँगै बालेन शाहको टिमबाट उनको पार्टीमा सहभागी हुन चाहनेहरू तत्काल सहभागी भएनन्।
सुमनासहितको टिम नआए पनि कुलमानले आफ्नै अवधारणा अनुसार पार्टीको नाम र चुनाव चिन्ह अगाडि सारेर अनुप उपाध्यायको अध्यक्षतामा पार्टी गठन गरे। अनुप पनि पूर्व ऊर्जा सचिव हुन्।
अहिलेको आवश्यकता राष्ट्रिय समस्या समाधान, भ्रष्टाचार नियन्त्रण, युवा पुस्ताको प्रतिनिधित्वसहितको जवाफदेही सरकार रहे पनि कुलमान भने एक अजेण्डामा टेकेर अगाडि बढिरहेका छन्।
उनको पार्टीमा सहभागीहरूको उपस्थिति हेर्ने हो भने जनजाति पृष्ठभूमिकालाई धेरै छन्। राजनीतिक रूपमा राजतन्त्र पक्षधरहरुलाई समेत उनले महत्त्वपूर्ण पद दिएका छन्।
अध्यक्ष बनाएका अनुप आफैँ राजतन्त्रको पक्षधर हुन्। पार्टीमा सहभागी हुनु अगाडि उनले सामाजिक सञ्जालमा राजतन्त्रको पक्षमा आफ्ना धारणा राख्दै आएका थिए। डा महेन्द्र सुन्दर लावती आफैँ राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन्।
बालेनको साथको आस
प्रारम्भमा बालेन आफैँ घिसिङलाई अगाडि सारेर नयाँ राजनीतिक दललाई अगाडि बढाउन चाहन्थे। धरानका मेयर हर्क साम्पाङको जातीय सङ्कीर्ण सोचको प्रभाव घटाउन पनि कुलमानको नेतृत्व बलियो हुने भन्दै सो समूहले कुलमानलाई अगाडि सारेको थियो। प्रारम्भमा उनीहरूले रास्वपाका सहभागी गराएर अगाडि बढ्ने रणनीति लिए।
त्यसका लागि रवि लामिछानेलाई संरक्षक राख्ने र कुलमानलाई अध्यक्ष बनाउनेगरि संवाद अगाडि बढेको थियो। तर रास्वपाले आयातित नेतृत्व स्वीकार नहुने भनेपछि यो च्याप्टर नै बन्द भयो।
दोस्रो चरणमा वैकल्पिक राजनीतिबाट उदाएका नेतृत्वसहित नयाँ पार्टी निर्माणको अभ्यास सुरु भयो। त्यसमा सुमनासहित विवेकशील साझालाई समेत समेटेर अगाडि बढ्ने रणनीति बनेको थियो। त्यसमा बालेनको टिमले आन्तरिक रूपमा सहजीकरण गरेको थियो।
तर नाम र चुनाव चिन्हबारेमा कुलमान सहमत नभएपछि सुमना र बालेनटिम तत्काल उज्यालो नेपालमा सहभागी भएनन्।
रिमा विश्वकर्मासहितका केही परिचित अनुहार पनि सहभागी भए पनि अहिले राजनीतिक रूपमा उज्यालो नेपालमा परिचित अनुसार कुलमान मात्र हुन्। त्यसैले कुलमान आफ्नो पार्टीको पक्षमा बालेनको समर्थन चाहन्छन्।
बालेनको समर्थन नभए पार्टीको उपस्थिति कमजोर हुने आँकलन गर्दै कुलमानले प्रयास गरिरहेका छन्। केही दिन अगाडि दुबैबीच भेट पनि भएको थियो। कुलमान पार्टीको घोषणा सभामा बालेनलाई सहभागी गराउन चाहन्थे। बालेनले तत्काल उनको प्रस्ताव अस्वीकार नगरे पनि प्रत्यक्ष रूपमा पार्टीलाई सघाउन भने राजी देखिएका छैनन्।
बालेन अहिले शोकमा छन्। हालै उनको बुबाको मृत्यु भएको थियो। बुधवारको घोषणा सभामा सुमना श्रेष्ठ भने सहभागी भएकी थिइन्। सभामा बोल्दै उनले आफू अहिले नयाँ शक्तिबीच एकताको प्रयासमा रहेको बताएकी थिइन्।
कुलमान प्राधिकरण प्रमुखहुँदा गरेका केही निर्णय विवादमा छ। ट्रान्सफरमर खरिद लगायतका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। उनी मन्त्री भएपछि भारतको एक कम्पनीसँग भएको विद्युत् खरिद सम्झौतामा भ्रष्टाचार भएको दाबीहरू सार्वजनिक भइरहेका छन्। यसले ब्यक्ती केन्द्रित पार्टीको जोखिम बढाएको छ।
“हर्कभन्दा कुलमान ठिक हुन् भन्नेमा समस्या भएन। तर उनले पार्टीको नामदेखि चुनाव चिन्हसम्म आफू केन्द्रित गराए,” बालेन निकट स्रोतले उकेरालाई भन्यो “रविलाई केन्द्रमा राख्दा रास्वपा समस्यामा पर्यो। भोलि कुलमान कुनै विवादमा परेमा पार्टी रास्वपाजस्तै समस्यामा पर्ने भएकाले अहिले नै कसरी सहकार्य गर्ने भन्ने निर्णय हुन सकेको छैन।”
राजनीतिक विचारमा पनि उज्यालो नेपाल प्रस्ट देखिएको छैन। राजावादी पृष्ठभूमिकालाई महत्त्वपूर्ण पद दिइएको छ। कुलमानको पारिवारिक सम्बन्ध पनि राप्रपासँग निकट रहेकाले समेत अहिले बालेन टिम कुलमानलाई समर्थन गर्ने विषयमा तत्काल निर्णय नगरी पर्खने रणनीतिमा देखियो।
मंसिर १७, २०८२ बुधबार १६:५६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।