नेप्से  परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेप्से  परिसूचक घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं : बुधवार नेप्से परिसूचक घटेर बजार बन्द भएको छ। बुधवार नेप्से परिसूचक १३.५२ अङ्क घटेर २६३१.१७ विन्दुमा झरेको हो। सेन्सेटिभ इन्डेक्स ३.०३ अङ्क, फ्लोट इन्डेक्स १.०१ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०४ अङ्क घटेका छन्।

यद्यपि, बजारको कारोबार रकममा भने बढेको छ। मंगलबार ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा बुधवार ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन ३३२ स्टकको ६७ हजार ४८५ पटक कारोबार भयो।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सागर डिस्टिलरी, मिथिला लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजका शेयरहरू सकारात्मक सर्किटमा पुगेका हुन्।

ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर मूल्य ७ प्रतिशत बढेको छ भने बुङ्गल हाइड्रोको शेयर मूल्य पनि करिब ६.५ प्रतिशतले बढ्यो। धेरै स्टकहरूको मूल्य ३ प्रतिशतभन्दा कम घटेको छ।

कारोबार रकमका आधारमा बन्दीपुर केबलकार एन्ड टुरिजमको शेयर सबैभन्दा बढी किनबेच भएको छ, जसको कुल कारोबार रकम १८ करोड ४९ लाख ७६ हजार रुपैयाँ रहेको छ। हिमालयन रि इन्स्योरेन्सको १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचकमा वृद्धि भएको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसमूहका परिसूचक पनि सामान्य रूपमा बढेका छन्। जीवन बीमा उपसमूहको परिसूचक १.१८ प्रतिशत घटेको छ। 

मंसिर १७, २०८२ बुधबार १५:३७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।