ट्रम्पले भने- ‘म लोभी त हैन, तर नोबेल पुरस्कार पाउनुपर्छ’
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक नोबेल शान्ति पुरस्कारको विषय उठाएका छन्।
ट्रम्पले यदि आफूले युक्रेन र रुसबीचको जारी युद्ध अन्त्य गराएमा आफूलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिनुपर्ने बताएका हुन्।
ह्वाइट हाउसमा आयोजित क्याबिनेट बैठकमा बोल्दै ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा आफू निकै आशावादी रहेको बताए।
ट्रम्पले आफूले विगतमा अन्त्य गरेका युद्धहरूका लागि पनि शान्ति पुरस्कार पाउनुपर्ने जिकिर गरे। यद्यपि, आफू यस विषयमा धेरै लोभी नभएको उनको दाबी थियो।
बैठकमा ट्रम्पले दाबी गर्दै भने, ‘मैले यसअघि नै ८ वटा युद्ध अन्त्य गरिसकेको छु र युक्रेनको यो युद्ध मेरो नवौं सफलता हुनेछ।’
उनले यस वर्षको नोबेल शान्ति पुरस्कार विजेता महिलाले समेत उक्त पुरस्कार वास्तवमा ट्रम्पलाई मिल्नुपर्ने अभिव्यक्ति दिएको दाबी गरे।
ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनको कडा आलोचना गरे। बाइडेनलाई 'अयोग्य' को संज्ञा दिँदै उनले बाइडेनले आफ्नो कार्यकालमा खासै केही गर्न नसकेको आरोप लगाए।
आफ्नो लोकप्रियताको चर्चा गर्दै ट्रम्पले भने, ‘म नाटोको बैठकमा जाँदा त्यहाँका मानिसहरूले मलाई युरोपको राष्ट्रपति भनेर बोलाउँथे। युरोपेली देशहरूले मलाई धेरै सम्मान गर्छन्।’
युद्धमा आर्थिक सहायताको विषयमा बोल्दै ट्रम्पले बाइडेनको पालामा जस्तो अहिले अमेरिकाले युक्रेनमा ठूलो धनराशी खर्च नगरिरहेको बताए।
उनका अनुसार, अहिले युरोपेली देशहरूले अमेरिकासँग हतियार खरिद गरिरहेका छन् र तिनै हतियार युक्रेनलाई उपलब्ध गराइरहेका छन्।
मंसिर १७, २०८२ बुधबार १०:१९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।