युक्रेन युद्धबारे पुटिन र अमेरिकी दूतबीच ५ घण्टा लामो वार्ता, तर जमिन फिर्ता गर्ने विषयमा सहमति जुटेन

युक्रेन युद्धबारे पुटिन र अमेरिकी दूतबीच ५ घण्टा लामो वार्ता, तर जमिन फिर्ता गर्ने विषयमा सहमति जुटेन

एजेन्सी : युक्रेन युद्धको विषयलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी दूत स्टिभ विटकफबीच रुसमा महत्त्वपूर्ण कुराकानी भएको छ।

पाँच घण्टा लामो बैठकमा पुटिन र विटकफका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जारेड कुशनर पनि सहभागी थिए।

पुटिनका सल्लाहकार युरी उशाकोभका अनुसार वार्ता रचनात्मक थियो, तर शान्ति सम्झौताका लागि अझै धेरै काम गर्न बाँकी छ। बैठकमा युक्रेनले फिर्ता मागेका भूभागहरूका विषयमा भने कुनै सहमति हुन सकेन।

यसअघि पुटिनले युरोपका शान्ति प्रस्तावहरू रुसलाई मान्य नहुने बताएका थिए। उनले रुस युरोपसँग युद्ध नचाहेको भए पनि यदि युरोप लड्न चाहन्छ भने आफूहरू तयार रहेको चेतावनी दिए।

बीबीसीका अनुसार, युद्धमा रुसको अवस्था बलियो भएकाले पुटिन अहिले नै झुक्ने वा सम्झौता गर्ने मुडमा देखिँदैनन्।

अर्कोतर्फ, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शान्ति सम्झौताका केही विषयमा काम गर्न बाँकी भए पनि युद्ध अन्त्य गर्ने अवसर अहिले पहिलेभन्दा धेरै रहेको बताएका छन्।

मंसिर १७, २०८२ बुधबार ०७:२७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।