एनपिएल पहिलो सिजनको तेस्रो टिम कर्णाली दोस्रो सिजनमा प्लेअफबाटै बाहिरियो, पोखरा चढ्यो चौथो नम्बरमा

एनपिएल पहिलो सिजनको तेस्रो टिम कर्णाली दोस्रो सिजनमा प्लेअफबाटै बाहिरियो, पोखरा चढ्यो चौथो नम्बरमा

काठमाडौं : एनपिएल पहिलो सिजनमा तेस्रो भएको कर्णाली याक्स दोस्रो सिजनको प्लेअफमै परेन। मंगलबार पोखरा एभेन्जर्ससँगको खेल हारेसँगै कर्णाली एनपिएल-२ को प्लेअफबाट बाहिरिने पहिलो टिम बन्यो। पोखराले अहिलेसम्म ६ खेल खेल्दा एक खेल मात्र जितेको छ। अन्तिम खेल जनकपुर बोल्ट्ससँग रहेको छ।

प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न  मंगलबारको खेल पोखरा एभेन्जर्स र कर्णाली दुबैका लागि महत्त्वपूर्ण थियो। पोखराले पनि अहिलेसम्म जम्मा एक खेल मात्र जितेको थियो। टस जितेर बलिङ रोजेको कर्णालीलाई पोखराले २०२ रनको उच्च स्कोरको चुनौती दियो। पोखराका एडम रोसिङले शतक प्रहार गरेका थिए। उच्च स्कोर पछ्याएको कर्णालीले पुरै ओभर पनि खेल्न पाएन। १९ ओभरमा १६९ रन बनाएर सबै विकेट गुमाउँदै ३४ रनले पराजित भयो।

एनपिएलको पहिलो सिजनमा कर्णालीले भारतीय ब्याटर शिखर धवन ल्याएर आकर्षणको केन्द्र बनेको थियो भने प्लेअफमा पर्दै तेस्रो टिम बनेको थियो। तर यस पटक उसले पुरानो लय समात्नै सकेन र एक खेल बाँकीहुँदै प्लेअफबाटै बाहिरियो।  

पाँच खेल खेलिसकेको पोखराले यस अगाडि जनकपुर बोल्ट्सलाई हराएर दुई अंक पाएको थियो। मंगलबारको खेलसँगै पोखराले चार अंक जोडेर प्लेअफमा पर्ने सम्भावना कायमै राखेको छ। सुदूरपश्चिम पाँच खेलमा पाँचै जितेर अंक तालिकामा पाहिलो नम्बरमा छ। रनरेटको आधारमा दोस्रो नम्बरमा चार खेल जितेर काठमाडौं रहेको छ भने तेस्रो नम्बरमा विराटनगर रहेको छ।

बाँकी पाँच टिमबाट पोखरा, चितवन र लुम्बिनी चार अंकसहित प्लेअफको प्रतिस्पर्धामा छ। रनरेटको आधारमा पोखरा चौथो नम्बरमा छ। त्यसपछि चितवन र लुम्बिनी रहेको छ। पाँच खेलमा एक खेल जितेको जनकपुर बोल्ट्स आठौँ नम्बरमा छ।

मंसिर १६, २०८२ मंगलबार २०:१४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।