बीआईसीको भव्य दीक्षान्त समारोह, ६४ जना दीक्षित
इटहरी : विराटनगर इन्टरनेशनल कलेज (बीआईसी) को ‘दीक्षान्त समारोह-२०२५’ आइतबार भव्यताका साथ सम्पन्न भएको छ। इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजित एक विशेष समारोहका बीच कलेजले यस वर्षका स्नातक तहका विद्यार्थीहरूलाई दीक्षित गरेको हो।
समारोहमा कलेजका कुल ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन्। कलेजका अनुसार ‘बिएससी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट’ संकायका ५४ जना र ‘बिएससी (अनर्स) इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट’ तर्फका १० जना विद्यार्थी दीक्षित भएका हुन्। कलेजले आफ्ना विद्यार्थीहरूको शैक्षिक उपलब्धि, लगनशीलता र कडा परिश्रमको कदर गर्दै उनीहरू अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य भएको जनाएको छ।
समारोहमा इनोभेट नेपाल ग्रुप (आईएनजी) का संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकीले दीक्षित विद्यार्थीहरूलाई बधाई ज्ञापन गरे। उनले विद्यार्थीहरूलाई केवल शैक्षिक प्रमाणपत्रमा मात्र सीमित नभई परिवर्तनकारी सोच, नेतृत्वदायी क्षमता र सामाजिक उत्तरदायित्व बोधका साथ अघि बढ्न प्रेरित गरे।
त्यस्तै, कार्यक्रममा उपस्थित कलेजको शैक्षिक साझेदार संस्था ‘युनिभर्सिटी अफ वोल्भरह्याम्पटन’ का प्रतिनिधिले विद्यार्थीहरूको अनुशासन र प्रतिबद्धताको खुलेर प्रशंसा गरे। उनले विद्यार्थीहरूको यो शैक्षिक सफलता कलेज र विश्वविद्यालयबीचको लामो तथा सुदृढ साझेदारीको उत्कृष्ट नतिजा भएको टिप्पणी गरे।
मंसिर १६, २०८२ मंगलबार १६:५७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।