चितवन राइनोजले टस जित्यो, अनिल टोलीमा फर्किए तर कप्तानी पार्नेललाई नै
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरू हुन लागेको खेलमा चितवनका कप्तान कुशल मल्लले टस जितेर जनकपुर बोल्ट्सलाई फिल्डिङको निम्तो दिएका हुन्।
आजको खेल जनकपुर बोल्ट्सका लागि निकै महत्त्वपूर्ण र दबाबपूर्ण छ। जारी लिगमा खराब प्रदर्शन गरिरहेको जनकपुर हालसम्म खेलेका ४ खेलमै पराजित हुँदै अंक तालिकाको पुच्छारमा छ।
अर्कोतर्फ, चितवन राइनोज मिश्रित नतिजासहित तालिकाको मध्यभागमा छ। चितवनले ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेर चौथो स्थान ओगटेको छ।
चितवनका लागि रवि बोपारा र कप्तान कुशल मल्लको ब्याटिङ फर्म महत्त्वपूर्ण हुनेछ। बलिङतर्फ सोहेल तन्बीर र रिजन ढकालले जनकपुरलाई अप्ठ्यारोमा पार्न सक्छन्।
यता, लगातारको हारबाट बौरिन संघर्ष गरिरहेको जनकपुरका लागि आसिफ शेख र लाहिरु मिलान्थाले ब्याटिङमा जिम्मेवारी सम्हाल्नुपर्ने देखिन्छ भने बलिङमा किशोर महतोको भूमिका अहम हुनेछ।
आजको खेलमा जनकपुरको नियमित कप्तान रहेका अनिल शाह प्लेइङ ११ मा फर्किए पनि कप्तानी भने वेनी पार्नलले नै कप्तानी सम्हाल्नेछन्।
मंसिर १६, २०८२ मंगलबार ११:४२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।