‘अभिमन्यु’ को ‘सरप्राइज प्याकेज’ बनिन् रेखा थापा, ‘च्याप्टर-२’ को संकेत !

‘अभिमन्यु’ को ‘सरप्राइज प्याकेज’ बनिन् रेखा थापा, ‘च्याप्टर-२’ को संकेत !

काठमाडौं : मंसिर १८ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु : च्याप्टर-१’ ले दर्शकलाई ठूलो ‘सरप्राइज’ दिएको छ।

निर्माण पक्षले प्रचारप्रसारका क्रममा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा र किरण श्रेष्ठलगायतका कलाकारलाई मात्र अघि सारे पनि फिल्ममा स्टार अभिनेत्री रेखा थापालाई ‘गोप्य अस्त्र’का रूपमा प्रयोग गरेको खुलेको हो।

निर्माण टिमले अहिलेसम्म लुकाएर राखेको यो सरप्राइज फिल्मको प्रिमियर शोमार्फत सार्वजनिक भएको हो। सस्पेन्स थ्रिलर विधाको यस फिल्मको प्रचार सामग्रीमा कतै नदेखिएकी रेखा फिल्मको क्लाइमेक्समा अचानक देखिन्छिन्।

फिल्ममा उनले नेपाल प्रहरीको अनुसन्धान अधिकृत भवानी थापाको भूमिका निर्वाह गरेकी छिन्। रेखाको यो ‘सस्पेन्स इन्ट्री’ ले दर्शकलाई सरप्राइज त दिएको छ नै, यसले उनी ‘अभिमन्यु : च्याप्टर-२’ को मुख्य भूमिकामा रहने संकेत पनि गरेको छ।

रेखालाई ‘सरप्राइज’ पात्रका रूपमा प्रस्तुत गरिए पनि फिल्मको दोस्रो शृङ्खला बन्ने वा नबन्ने भन्नेमा भने अन्योल कायमै छ।

फिल्मको प्रचारप्रसार सुस्त हुनु र पटक-पटक प्रदर्शन मिति सरेर अचानक हलमा लाग्नुले ‘च्याप्टर-१’ को व्यावसायिक नतिजा कस्तो आउला भन्ने शंका उब्जाएको छ। पहिलो भाग सफल भए मात्र दोस्रो भाग बन्ने निश्चित हुने भएकाले रेखाको भूमिकाले पूर्णता पाउने वा नपाउने कुरा बक्स अफिस कलेक्सनमै निर्भर हुने देखिन्छ।

यद्यपि, प्रिमियरमा फिल्म हेर्ने अधिकांशले यसको कथा वाचन शैली र सस्पेन्सलाई रुचाएका छन्। कलाकारहरूको अभिनयको पनि तारिफ भएको छ। सुशान्त गौतमले निर्देशन गरेको र मुकेश खनालले कथा लेखेको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन हुँदैछ।

विनोद पौडेललगायतको लगानी रहेको फिल्ममा कामेश्वर, लक्ष्मी, किरण र रेखाका अलावा सरिता गिरी, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायतका कलाकारको मुख्य भूमिका छ।

मंसिर १६, २०८२ मंगलबार ११:२९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।