फाफ डु प्लेसिसपछि मोइन अलीले पनि गरे आईपीएल नखेल्ने घोषणा
काठमाडौं : दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिसपछि अब इंग्ल्यान्डका पूर्व अलराउन्डर मोइन अलीले पनि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा भाग नलिने निर्णय गरेका छन्।
उनले आईपीएलको सट्टा पाकिस्तान सुपर लिग (पीएसएल) २०२६ खेल्ने घोषणा गरेका छन्। चार दिनभित्र आईपीएल छोडेर पीएसएल रोज्ने उनी दोस्रो विदेशी खेलाडी बनेका छन्।
२९ नोभेम्बरमा आरसीबीका पूर्व कप्तान फाफ डु प्लेसिसले आईपीएलबाट नाम फिर्ता लिँदै पीएसएल खेल्ने घोषणा गरेका थिए।
१४ सिजन आईपीएल खेलेका फाफले १५४ खेलमा ४,७७३ रन बनाएका छन्। सन् २०२५ मा दिल्ली क्यापिटल्सबाट खेल्दा चोटका कारण उनको प्रदर्शन प्रभावित भएको थियो।
मोइन अलीले सामाजिक सञ्जालमा आफ्नो निर्णयबारे जानकारी दिँदै लेखेका छन्, ‘म पीएसएलको नयाँ सिजनमा सहभागी हुन निकै उत्साहित छु। यो विश्वका शीर्ष टी-२० लिगमध्ये एक हो। हरेक टिममा विश्वस्तरीय खेलाडी छन्। पाकिस्तानमा खेल्नु सधैँ शानदार अनुभव हुन्छ। त्यहाँको क्रिकेटको स्तर उत्कृष्ट छ र दर्शकको उत्साहले खेलाडीलाई शतप्रतिशत योगदान दिन प्रेरित गर्छ।’
आईपीएल २०२५ को मेगा अक्सनमा कोलकाता नाइट राइडर्स (केकेआर)ले मोइनलाई २ करोड भारुको आधार मूल्यमा किनेको थियो।
तर, आईपीएल २०२६ सुरु हुनुअघि केकेआरले रिलिज गरेका ९ खेलाडीको सूचीमा मोइन पनि परेका थिए। सन् २०२५ को सिजनमा उनको प्रदर्शन सामान्य रह्यो, जहाँ उनले ६ खेलमा जम्मा ६ रन बनाए भने ६ विकेट लिए।
सन् २०१८ देखि आईपीएल खेल्दै आएका मोइन अलीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी), चेन्नई सुपर किंग्स (सीएसके) र केकेआर जस्ता टोलीबाट खेलेका छन्।
हालसम्म उनले ७३ आईपीएल खेलमा १ हजार १६७ रन बनाउनुका साथै ४१ विकेट लिएका छन्। उनी सीएसकेसँग सन् २०२१ र २०२३ मा दुईपटक आईपीएल च्याम्पियन पनि बनेका थिए।
आईपीएलको मिनी अक्सन यही डिसेम्बर १६ मा अबु धाबीमा हुँदैछ
मंसिर १६, २०८२ मंगलबार ०९:२१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।