इमरान खानको पार्टीको अपिलपछि पाकिस्तानका दुई जिल्लामा धारा १४४ लागू

इमरान खानको पार्टीको अपिलपछि पाकिस्तानका दुई जिल्लामा धारा १४४ लागू

एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई)को प्रस्तावित विरोध प्रदर्शनलाई मध्यनजर गर्दै राजधानी इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ (निषेधाज्ञा) लागू गरिएको छ।

दुवै सहरको प्रशासनले निषेधाज्ञा जारी भएको समयमा कुनै पनि किसिमको विरोध प्रदर्शन, र्याली वा सभा गर्न अनुमति नरहेको स्पष्ट पारेको छ।

बीबीसी उर्दूका अनुसार पिटिआईका सांसदहरूले मङ्गलबार इस्लामाबाद उच्च अदालत र अडियाला जेल बाहिर शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेका छन्।

खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले आइतबार नै यो प्रदर्शनको घोषणा गरेका थिए। उनले यो प्रदर्शनमा विधानसभाका सदस्यहरू (सांसद) मात्र सहभागी हुने र पार्टीका अन्य कार्यकर्ताहरू सामेल नहुने स्पष्ट पारेका छन्।

मुख्यमन्त्री अफ्रिदीका अनुसार इस्लामाबाद उच्च अदालत बाहिर गरिने प्रदर्शनको मुख्य उद्देश्य इमरान खान र उनकी श्रीमती बुशरा बीबीविरुद्ध चलिरहेका मुद्दाहरूको छिटो सुनुवाइ सुनिश्चित गराउन दबाब दिनु हो।

भ्रष्टाचारसम्बन्धी १९ करोड पाउन्डको मुद्दामा अदालतबाट दोषी ठहर भएपछि पूर्वप्रधानमन्त्री खान विगत दुई वर्षभन्दा लामो समयदेखि रावलपिन्डीको अडियाला जेलमा बन्दी जीवन बिताइरहेका छन्।

मंसिर १६, २०८२ मंगलबार ०८:११:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।