एनपीएलमा आज दुई खेल हुँदै, जनकपुरलाई अस्तित्व रक्षाको दबाब

एनपीएलमा आज दुई खेल हुँदै, जनकपुरलाई अस्तित्व रक्षाको दबाब

काठमाडौं : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन्।

दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।

आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

जारी प्रतियोगितामा खराब लयबाट गुज्रिरहेको जनकपुरका लागि यो खेल निकै महत्त्वपूर्ण छ।

लगातार चार खेल हारेर अङ्क तालिकाको पुच्छारमा सीमित भएको जनकपुरले आजको खेल जितेर प्लेअफको गणितीय सम्भावना कायमै राख्ने लक्ष्य लिएको छ।

उता, चार खेलमध्ये दुईमा जित निकालेको चितवन राइनोज भने आजको खेल आफ्नो पक्षमा पार्दै प्लेअफ पुग्ने सम्भावनालाई थप बलियो बनाउन चाहन्छ।

त्यस्तै, आजै अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। प्लेअफ दौडका लागि यो खेल दुवै टोलीका लागि निर्णायक मानिएको छ।

चार खेलमा एक जित मात्र हात पारेको पोखरालाई अघिल्लो चरणको यात्रा सहज बनाउन आज जित्नैपर्ने दबाब छ।

मंसिर १६, २०८२ मंगलबार ०७:३५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।