सरकारले निर्वाचनको वातावरण तयार गर्नुपर्छ : संयोजक प्रचण्ड

सरकारले निर्वाचनको वातावरण तयार गर्नुपर्छ : संयोजक प्रचण्ड

विराटनगर : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक वातावरण तयार गर्नुपर्ने बताएका छन्।

पार्टीको कोशी प्रदेशद्वारा सोमबार विराटनगरमा आयोजित ‘पार्टी एकता सन्देश सभा’लाई गर्दै उनले अहिलेको गतिरोध अन्त्यका लागि निर्वाचन नै एक मात्र विकल्प भएको औँल्याएका हुन्।

संयोजक प्रचण्डले संस्थालाई जोगाउन राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तरिम सरकार बनाउन आफूहरूले पनि सहमति दिएको बताए। उनले आफूहरूलाई सच्चिनका लागि जेनजी आन्दोलनले सचेत बनाएको प्रसङ्ग उल्लेख गर्दै नेपालमा दलहरूले एकता र विभाजनको पीडा भोगिसकेको स्मरण गराए।

उनले नेपाली जनताको आत्मसम्मान र स्वाधीनताका निम्ति वामपन्थीहरू एक हुनुपर्ने बताए। उनले मुलुक अहिले सङ्कटमा रहेको र नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्न नेपाली सेना र नेपाल प्रहरीले मात्र गर्न नसक्ने भन्दै साम्राज्यवादलाई परास्त गर्न सबै नेपाली फौजी जस्तो बन्नुपर्ने धारणा राखे।

जेनजी आन्दोलनबाट उठेका मागलाई सम्बोधन गर्न, नेपाली जनतालाई बलियो बनाउन, सुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्न १६ वटा कम्युनिष्ट पार्टीहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको उनको भनाइ थियो।

मंसिर १५, २०८२ सोमबार २१:०२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।