राजनीतिक असन्तुष्टिले आर्थिक क्रियाकलापमा नकारात्मक प्रभाव पार्यो : अर्थमन्त्री खनाल
काठमाडौं : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकमा अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्नुको कारणबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।
सेजनको २९औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहमा मन्त्री खनालले विगतका वर्षहरूमा राजनीतिक असन्तुष्टि तथा अस्थिरताले विकास र आर्थिक क्रियाकलापमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै भने, 'देशमा राजनीतिक असन्तुष्टि जसरी पनि प्रकट भए पनि यहाँ जो कोहीले गरेको सम्पत्ति सिर्जना नेपालको सम्पत्ति नै हो भन्ने बुझाइ सबैतिर हुनुपर्छ।'
मन्त्री खनालले बढ्दो प्रविधि प्रयोगसँगै सूचनाको आधिकारिकता र त्यसले पार्ने प्रभावबारे सचेत हुनुपर्ने आवश्यकता औँल्याए। सञ्चार क्षेत्रमा आउने गलत तथा अप्रमाणित सूचनाले अन्तर्राष्ट्रिय सम्बन्ध र लगानी वातावरणमा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै उनले सञ्चार माध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
'उचित सन्देश तथा सही सूचनाले निजी क्षेत्रमा सकारात्मक सोच विकास हुन्छ, लगानीकर्ताको मनोबल बलियो बन्छ। त्यसैले सूचना प्रवाहको संवेदनशीलता बुझ्नै पर्छ,' मन्त्री खनालले स्पष्ट पारे। पछिल्लो समय सरकार ठूला पूर्वाधार आयोजनामा बजेट थप्दै काम अगाडि बढाइरहेको उनले जानकारी दिए।
साथै, पुँजी बजारका विद्यमान समस्या समाधान गर्न तथा पूर्वविशिष्ट पदाधिकारीको सेवा-सुविधालाई कानुनी ढाँचामा ल्याइ नियमन गर्ने कार्य भइरहेको अर्थमन्त्री खनालले उल्लेख गरे।
मंसिर १५, २०८२ सोमबार १४:१५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।