७० लागे उदीत : रेडियो नेपालबाट गायकी सुरू, श्रीमतीसँग डिभोर्स अनि फ्यानलाई चुम्बन गर्दा बने विवादित

७० लागे उदीत : रेडियो नेपालबाट गायकी सुरू, श्रीमतीसँग डिभोर्स अनि फ्यानलाई चुम्बन गर्दा बने विवादित

एजेन्सी : बलिउड तथा नेपाली सांगीतिक क्षेत्रका प्रख्यात गायक उदित नारायण झाले आज आफ्नो ७०औं जन्मदिन मनाउँदै छन्। नेपालको एक सामान्य किसान परिवारमा जन्मेर बलिउडमा जम्न सफल उनको सांगीतिक यात्रा निकै प्रेरणादायी र सङ्घर्षपूर्ण छ।

उदितका बुबा हरिकृष्ण झा छोरा डाक्टर वा इन्जिनियर बनून् भन्ने चाहन्थे, तर आमा भुवनेश्वरी देवीले भने उनलाई सङ्गीतमा लाग्न सधैँ हौसला दिइन्। बाल्यकालमा रेडियोमा लता मङ्गेशकर, मोहम्मद रफी र किशोर कुमारका गीत सुनेर हुर्केका उदितले सुरुमा गाउँका मेला-पर्वमा गाएर थोरै पैसा कमाउँथे।

उनले आफ्नो सांगीतिक करियरको सुरुवात रेडियो नेपालबाट गरेका थिए। काठमाडौंमा दिउँसो रेडियोमा गीत गाउने र राति पढ्ने गर्थे। सन् १९७८ मा छात्रवृत्ति पाएर उनी सङ्गीत सिक्न मुम्बई पुगे। त्यहाँ भारतीय विद्या भवनमा शास्त्रीय सङ्गीत सिके।

मुम्बई पुगेपछि करिब १० वर्षसम्म उनले निकै सङ्घर्ष गर्नुपर्यो। सन् १९८८ मा आएको फिल्म ‘कयामत से कयामत तक’ उनका लागि ‘टर्निङ पोइन्ट’ बन्यो। चित्रगुप्तका छोराहरू आनन्द-मिलिन्दले उनलाई यस फिल्ममा गाउने अवसर दिए।

‘पापा कहते हैं’ जस्ता गीत सुपरहिट भएपछि उदित रातारात स्टार बने र पहिलो फिल्मफेयर अवार्ड पनि जिते। उनले एक अन्तर्वार्तामा आफ्नो सफलतामा यो फिल्म र छोरा आदित्य नारायणको जन्मको ठूलो हात रहेको बताएका थिए।

९० को दशकमा उदित नारायण र कुमार सानुबीच कडा प्रतिस्पर्धा चल्यो। सन् १९९० मा उदितको फिल्म ‘दिल’ र कुमार सानुको ‘आशिकी’ एकैसाथ रिलिज हुँदा दुवैका गीतहरूले बजार तताएका थिए। उदितले यसलाई स्वस्थ प्रतिस्पर्धाको रूपमा लिए र हार मानेनन्। सन् १९९५ देखि २००४ सम्मको समय भने उदितको एकल वर्चस्वजस्तै रह्यो।

उदित नारायणलाई भारत सरकारले सन् २००९ मा पद्मश्री र सन् २०१६ मा पद्म भूषणबाट सम्मानित गरेको छ।

यद्यपि, उनको जीवन विवादमुक्त भने रहेन। पहिलो श्रीमती रञ्जना झासँगको कानुनी लडाइँ लामो समयसम्म चल्यो। रञ्जनाले उदितले आफूसँग सम्बन्धविच्छेद नगरी दीपा गहतराजसँग दोस्रो विवाह गरेको आरोप लगाएकी थिइन्।

अदालतले पछि दुवै श्रीमतीलाई साथमा राख्न आदेश दिएको थियो। यसबाहेक, कन्सर्टका क्रममा फ्यान र सहकर्मी गायिकालाई चुम्बन गरेका कारण पनि उनी विवादमा तानिए।

मंसिर १५, २०८२ सोमबार १२:५२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।