पाकिस्तानको बलोचिस्तानस्थित एफसी मुख्यालयमा आत्मघाती आक्रमण, जवाफी कारबाहीमा ३ लडाकु मारिए
एजेन्सी : पाकिस्तानको बलोचिस्तान प्रान्तमा आइतबार राति सुरक्षा फौजलाई लक्षित गरी ठूलो आक्रमण भएको छ। नोककुन्डीस्थित फ्रन्टियर कोर (एफसी)को मुख्यालयमा आत्मघाती आक्रमण भएको हो।
पाकिस्तानी पत्रिका ‘डन’का अनुसार, मुख्यालयको मुख्य गेटमा एक आत्मघाती हमलाकारीले आफूलाई उडाएका थिए। विष्फोट यति शक्तिशाली थियो कि मुख्यालयको गेट नै भत्कियो। विष्फोट लगत्तै ६ जना हतियारधारी लडाकुहरूभित्र पसेका थिए।
त्यसपछि सुरक्षा फौजले तत्काल जवाफी कारबाही सुरु गरेको थियो। दुवै पक्षबीच भएको भारी गोलीबारीमा ३ जना आक्रमणकारी मारिएको बताइएको छ। यद्यपि, केही स्रोतहरूले भने ६ जना नै आक्रमणकारी मारिएको दाबी गरेका छन्।
यसैबीच, पन्जगुर जिल्लाको गुरमाकन क्षेत्रमा रहेको अर्को एफसी चेकपोस्टमा पनि आक्रमण भएको छ। एफसीका प्रवक्ताले यी दुवै आक्रमण ‘बलोचिस्तान लिबरेशन आर्मी’(बीएलए) ले गरेको दाबी गरेका छन्।
मुख्यालयमा आक्रमण हुनुभन्दा केही घण्टा अगाडि मात्रै सोही क्षेत्रमा लगातार ७ वटा विष्फोट भएका थिए। संदिग्ध उग्रवादीहरूले क्वेटा र डेरा मुराद जमालीका विभिन्न स्थानलाई निशाना बनाएका थिए।
शनिबार क्वेटामा प्रहरी चेकपोस्टमा ह्यान्ड ग्रेनेड प्रहार गरिएको थियो भने एन्टी-टेररिज्म डिपार्टमेन्ट (एटीडी)को गाडी नजिक आईईडी विष्फोट गराइएको थियो। साथै, प्रहरी चौकी, निर्माण कम्पनीको क्याम्प र रेलवे ट्रयाकमा समेत बम विष्फोट गराइएको छ।
पाकिस्तानमा पछिल्लो समय सुरक्षा चुनौती थपिँदै गएको छ। यो वर्ष मात्रै बलोचिस्तानमा भएका विभिन्न हिंसात्मक घटनामा ७८२ जनाको मृत्यु भइसकेको छ।
यसैबीच, पाकिस्तानका उपप्रधानमन्त्री इशाक डारले शनिबार मात्रै एक तथ्यांक सार्वजनिक गर्दै विगत ४ वर्षमा पाकिस्तानका ४ हजार सैनिक मारिएको जानकारी दिएका छन्।
उनका अनुसार यस अवधिमा २० हजारभन्दा बढी सैनिक घाइते भएका छन्। अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेपछि पाकिस्तानले ठूलो क्षति ब्यहोर्नुपरेको उनले बताएका छन्।
मंसिर १५, २०८२ सोमबार ११:५८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।