एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा नेपालको घातक बलिङ, दयानन्द मण्डलले एक्लै लिए ४ विकेट
काठमाडौं : एसीसी यू-१९ पुरुष प्रिमियर कप २०२५ को फाइनल खेलमा नेपालले घरेलु टोली यूएई विरुद्ध सानदार सुरुआत गरेको छ।
यूएईको अजमानस्थित करवान मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले यूएईको ब्याटिङ लाईन ध्वस्त पारेको छ।
नौ ओभरको समाप्तिमा यूएईले ४ विकेट गुमाएर मात्र २१ रन बनाएको छ। नेपालका लागि दयानन्द मण्डल एक्लैले ४ विकेट लिएर यूएईलाई संकटमा पारेका हुन्।
नेपालका बलर दयानन्द मण्डलले घातक बलिङ गर्दै ५ ओभरमा २ मेडन राख्दै मात्र ९ रन खर्चिएर ४ महत्त्वपूर्ण विकेट हात पारे।
उनले खेलको पहिलो ओभरको पहिलो बलमै यूएईका कप्तान यन राईलाई आशिष लुहारको हातबाट क्याच गराउँदै शून्यमा आउट गरे।
त्यसपछि मण्डलले जैनुल्लाह रहमानी, आयान मिसबाह र मोहम्मद रायन खानलाई आउट गर्दै यूएईको शीर्ष क्रम धराशायी बनाए।
अहिले क्रिजमा अहमद खुदादाद र पृथ्वी मधु खेलिरहेका छन्। नेपालका अर्का बलर नितेश कुमार पटेलले ३ ओभरमा ७ रन दिएर कसिलो बलिङ गरिरहेका छन् भने भर्खरै चन्दन राम बलिङमा आएका छन्।
नेपालले टस जितेर फिल्डिङ रोज्ने निर्णयलाई आफ्ना बलरहरूले सही साबित गरिदिएका छन्।
नेपाल र युएई दुवै एसीसी यू-१९ पुरुष एसिया कपमा छनोट भइसकेका छन्। एसीसी यू-१९ पुरुष एसिया कप युएईमा नै हुनेछ।
मंसिर १५, २०८२ सोमबार ११:३७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।