अब व्यक्तिगत ओभरड्राफ्ट ऋण १ करोडसम्म लिन पाइने, लघुवित्तको ऋण सीमा १५ लाख पुग्यो

अब व्यक्तिगत ओभरड्राफ्ट ऋण १ करोडसम्म लिन पाइने, लघुवित्तको ऋण सीमा १५ लाख पुग्यो

काठमाडौं : अब बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत प्रयोजनका लागि १ करोड रुपैयाँसम्म ऋण लिन पाइने भएको छ। यसअघि यस्तो ऋणको सीमा ५० लाख रुपैयाँ मात्र थियो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै व्यक्तिगत कर्जाको सीमालाई दोब्बर बनाएको हो।

यस्तै, लघुवित्त वित्तीय संस्थाबाट ऋण लिनेहरूका लागि पनि राष्ट्र बैंकले ठूलो राहत दिएको छ। लघुवित्तबाट धितो राखेर लिने कर्जाको सीमा ७ लाखबाट बढाएर १५ लाख रुपैयाँ पुर्याइएको छ।

बैंकबाट ऋण लिनेहरूका लागि ब्याजदर थप सस्तो हुने भएको छ। केन्द्रीय बैंकले ब्याजदर करिडोर अन्तरगतका नीतिगत दरहरू घटाएको छ।

बैंक दरलाई ६ प्रतिशतबाट ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट ४.२५ प्रतिशतमा झारिएको छ। नीतिगत दर घट्दा बैंकहरूको लागत कम भई कर्जाको ब्याजदर घटाउन मद्दत पुग्नेछ।

राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदरसम्बन्धी कडा व्यवस्था हटाएको छ। अब संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको भन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम हुनैपर्ने बाध्यात्मक व्यवस्था खारेज गरिएको छ।

इलाम लगायतका जिल्लामा हालैको बाढी-पहिरोबाट प्रभावित उद्यम/व्यवसायलाई राष्ट्र बैंकले विशेष सहुलियत दिएको छ। यस्ता प्रभावित ऋणीले पाकेको ब्याजको कम्तीमा १० प्रतिशत रकम तिरेर कर्जाको पुनरसंरचना वा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था समीक्षा मार्फत गरिएको छ।

लघुवित्तका ऋणीहरूको ऋण भुक्तानीमा समस्या देखिएको भन्दै राष्ट्र बैंकले उनीहरूको कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सकिने लचिलो व्यवस्था पनि ल्याएको छ।

समीक्षा प्रतिवेदन अनुसार अर्थतन्त्रमा महँगी १.४७ प्रतिशतमा सीमित छ भने विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च विन्दुमा रहेको छ। तर, बैंकहरूको खराब कर्जा भने बढेर ५.२६ प्रतिशत पुगेको छ।

मंसिर १५, २०८२ सोमबार ११:१४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।