नेपालको क्रिकेट क्रेजले २०/३० वर्षअघिको भारत र श्रीलंकाको याद दिलाउँछ- जिमी निसम

नेपालको क्रिकेट क्रेजले २०/३० वर्षअघिको भारत र श्रीलंकाको याद दिलाउँछ- जिमी निसम
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले महत्त्वपूर्ण जित हासिल गरेपछि न्युजिल्याण्डका चर्चित अलराउन्डर जिमी निसम निकै उत्साहित देखिएका छन्।

सुरुवाती केही खेलमा अपेक्षित प्रदर्शन गर्न नसके पनि टोलीले लय समातेकोमा उनले खुसी व्यक्त गरे।

खेलपछिको कुराकानीमा निसमले भने, ‘सुरुका दुई खेलमा मेरो प्रदर्शन औसत थियो, तर स्पिन फ्रेन्डली कन्डिसनमा गाह्रो हुन्छ। त्यसैले पहिले ब्याटिङ गरेर पार स्कोर खडा गर्न पाउँदा र बलरहरूले सुरुवाती १० ओभरमा उत्कृष्ट प्रदर्शन गर्दा धेरै खुसी लागेको छ।’

निसमले आफ्ना सहकर्मी सुमित वर्माको ब्याटिङको खुलेर प्रशंसा गरे।

उनले भने, ‘सुमितजस्ता खेलाडीहरूमा आक्रामक खेल्ने आत्मविश्वास छ। केही कठिन हारपछि पनि कोचिङ स्टाफ र छनोटकर्ताहरूले खेलाडीहरूमाथि विश्वास कायम राखेकोमा जस दिन चाहन्छु।’

उनले फिल्डिङमा पनि टोलीले सुधार गरेको र यो जितले टोलीमा उत्साह थपेको बताए।

खेलका क्रममा बाउन्ड्री लाइनमा लिएको उत्कृष्ट क्याचबारे सोधिएको प्रश्नमा निसमले ठट्टालु पारामा भने, ‘म आफैँ आफ्नो तारिफ गर्न चाहन्न, तर त्यो क्याचबाट म सन्तुष्ट छु।’

उनले यो क्याचलाई १० वर्षअघि दक्षिण अफ्रिकाविरुद्ध लिएको एक क्याचसँग तुलना गर्दै त्यसलाई आफ्नो स्मरणीय क्षण बताए।

नेपाल र नेपाली क्रिकेट समर्थकहरूप्रति आफ्नो प्रेम दर्शाइरहने निसमले नेपालको क्रिकेट क्रेजलाई भारत र श्रीलंकाको इतिहाससँग तुलना गरे।

‘यो निकै भावुक र क्रिकेटप्रेमी देश हो। यहाँको माहोलले मलाई २० वा ३० वर्ष अघिको भारत र श्रीलंकाको याद दिलाउँछ, जहाँ क्रिकेटका स्थापित राष्ट्र बन्नुअघि यस्तै माहोल थियो’, उनले भने।

गत वर्ष जनकपुरबाट खेल्दा उपाधि जितेको स्मरण गर्दै उनले भने, ‘गत वर्षको फाइनलपछि फ्यानहरूबाट पाएको माया अविश्वसनीय थियो। पछिल्लो १०/११ महिनामा मलाई हरेक दिनजसो सामाजिक सञ्जालमा फर्केर आउन सन्देशहरू आइरहेका थिए। त्यो माया फिर्ता गर्न पाउँदा म निकै खुसी छु।’

मंसिर १२, २०८२ शुक्रबार १०:३८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।