हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो, करिब ३०० जना अझै बेपत्ता

हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो, करिब ३०० जना अझै बेपत्ता

एजेन्सी : हङकङको एउटा आवासीय क्षेत्रमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ। घटनामा ७६ जना घाइते भएका छन्।

अधिकारीहरूका अनुसार अझै पनि करिब ३०० जना बेपत्ता छन्।

बुधबार लागेको यो आगो 'ताई पो' जिल्लाका आठवटा भवनमध्ये सातवटा भवनमा फैलिएको थियो। हङकङका नेताले आगो अहिले नियन्त्रणमा आइसकेको बताएका छन्।

यस घटनालाई लिएर स्थानीय मानिसहरूले सुरक्षा व्यवस्थामा कमजोरी भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। एक स्थानीय बासिन्दाले भने, ‘सावधानी अपनाएको भए यो दुर्घटना रोक्न सकिन्थ्यो।’

आगलागी भएको समयमा उक्त भवनभित्र कति मानिस थिए भन्ने अझै स्पष्ट हुन सकेको छैन। तथ्यांक अनुसार उक्त कम्प्लेक्समा करिब ४ हजार ६ सय मानिस बसोबास गर्छन्।

आगो कसरी लाग्यो भन्ने विषयमा अझै प्रश्न उठिरहेका छन्। प्रहरीका अनुसार भवनको बाहिरी भागमा प्रयोग गरिएको निर्माण सामग्री ‘फायरप्रुफ’थिएन, जसका कारण आगो छिटो फैलिएको हुन सक्छ।

मंसिर १२, २०८२ शुक्रबार ०८:४५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।