विदेश लैजाने भन्दै फिल्मकर्मीको ठगी धन्दा, तीन निर्माता-निर्देशकविरुद्ध मुद्दा दायर

विदेश लैजाने भन्दै फिल्मकर्मीको ठगी धन्दा, तीन निर्माता-निर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौं : सुटिङ लगायत विभिन्न बहानामा विदेश लैजाने प्रलोभन देखाई सर्वसाधारण तथा कलाकारलाई ठगी गरेको अभियोगमा चलचित्रका निर्माता तथा निर्देशकहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

विदेश लगेर उतै सेटल गराइदिने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा तीन निर्माता तथा निर्देशकविरुद्ध ठगीको मुद्दा दायर भएको हो।

पहिलो- चर्चित निर्देशक शंकर घिमिरेले अमेरिकाको सपना बाँडेर सरकारी कागजात नै किर्ते गरी करिब १५ लाख ठगेको र दोस्रो- ‘सञ्जीवनी’ फिल्मका निर्माता आशीर्वाद सुवेदी र निर्देशक दिनेश श्रेष्ठले सुटिङको बहानामा क्यानडा लैजाने भनी विभिन्न व्यक्तिबाट ४७ लाख रुपैयाँ ठगी गरेको पाइएको छ।

निर्देशक घिमिरेद्वारा अमेरिकाको भिसा प्रलोभन
राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी मोहन विश्वकर्माले निर्देशक घिमिरेविरुद्ध ठगी तथा लिखितसम्बन्धी कसुरमा मुद्दा दायर गरेका छन्।

निर्देशक घिमिरेले आफ्नो परिवारलाई अमेरिकाको भिसा दिलाइ दिने भनी विश्वासमा लिएर ठगी गरेको अभियोग पत्रमा उल्लेख छ। अमेरिकाको भिसा लगाउन सजिलो हुने भन्दै आफूसँग रहेको अफिसको कागजपत्रसमेत दुरुपयोग गरेको विश्वकर्माले भनेका छन्। 

घिमिरेसँग करिब २ वर्ष अघिदेखि चिनजान भएको र  भेटघाट बाक्लिँदै गएको अवस्थामा अमेरिका आउनका लागि लोभ देखाएको अभियोग पत्रमा उल्लेख गरिएको छ।

घिमिरे र उनका सहयोगी बन्दिता शर्मा दाहालले अमेरिकाको भिसा दिलाइ दिने भनी पटक पटक गरी करिब १५ लाख रुपैयाँ लिएको र तत्कालीन खेलकुद परिषद्का उपाध्यक्षको खेलकुद परिषद्को लेटरप्याडमा हस्ताक्षर किर्ते गरेर सही छापा लगाएको विश्वकर्माको बयानमा उल्लेख छ।  

अभियोग पत्रमा भनिएको छ, ‘निज मेरो घरमा समेत आवत जावत गर्न थाल्नुभयो। यसैक्रम मानिजले मेरो परिवारबारे सम्पूर्ण कुरा थाहा जानकारीमा लिई म फिल्म क्षेत्रमा काम गर्ने मान्छे हुँ, संयुक्त राज्य अमेरिका जाँदै आउँदै गर्छु, तपाईँ खेलाडी र तपाईँकी श्रीमती नर्सिङ पढेको मानिस हुनुहुँदो रहेछ, अमेरिका जान आउन सहज हुन्छ, तपाईँको श्रीमतीलाई पनि उपयुक्त नोकरी पाउने अवसर प्राप्त हुन्छ, छोराछोरीको भविष्य राम्रो हुन्छ, म उचित भिसा दिलाई दिन्छु।’

निर्देशक घिमिरेले भिसा लागेपछि २० हजार डलर लाग्ने भनेर विश्वासमा पारी ठगी गरेको आरोप छ। विश्वकर्माले घिमिरेका सहयोगी बन्दितालाई आफूले नचिनेको भनेका छन्। खेलकुद परिषद्कै वर्तमान सदस्य सचिव टंकलाल घिसिङको समेत हस्ताक्षर किर्ते गरेर सही छापा लगाएको उल्लेख गरेका छन्। 

खेलकुद परिषद्ले खेलकुद क्षेत्रको बदनाम गराउने गरी परिषद्को लेटरप्याडदेखि हस्ताक्षर किर्ते गरेर सही छापा गर्नेमाथि कारबाही गर्न माग गरेको छ। तर, विश्वकर्माले उपलब्ध गराएको प्रमाणका आधारमा उनले परिषद्को लेटरप्याडको दुरुपयोग नगरेको स्पष्ट पारेको छ। 

निर्देशक घिमिरेविरुद्ध गत वर्ष फिल्म ‘तेलभिसा’रिलिजको समयमा उनकै आफन्तले प्रहरीमा उजुरी दिएका थिए। त्यो केसमा उनीहरुबीचको छलफलमा नै सकिएको थियो। अमेरिकामा लागि विभिन्न तरिकाले आफूले रकम दिएका उनका आफन्तले लगाएका थिए।

क्यानडा लैजाने भनेर फिल्म ‘संजिवनी’का निर्माता निर्देशबाट ठगी
यता फिल्म ‘संजिवनी’का निर्माता निर्देशक आशीर्वाद सुवेदी, दिनेश श्रेष्ठमाथि क्यानडा लैजाने भनेर चलचित्र तथा भिडियो कोरियोग्राफरलाई ठगीको आरोप लागेको छ।

कोरियोग्राफर विक्रमबहादुर स्वाँर, नेत्र परियारसहित कुलबहादुर तामाङ, चेतराज जोशी, पुष्कर विष्टले काठमाडौं जिल्ला अदालतमा उनीहरू विरुद्ध मुद्दा गरेका हुन्।

फिल्म ‘संजिवनी’को सुटिङका लागि क्यानडामा लैजाने भनेर सुवेदी र श्रेष्ठको टिम (मिना शाही र प्रवीणराज भण्डारी)ले सहयोगीमार्फत आफूहरूबाट ४७ लाख रुपैयाँ ठगी गरेको अभियोग पत्रमा उल्लेख छ।

फिल्म ‘संजिवनी’को छायांकनका लागि क्यानडा गएर कोरियोग्राफी गरिदिन प्रस्ताव गरेको र त्यसको लागि आवश्यक कागजात मिलाउने भनेर उक्त रकम आफूहरूबाट लगिएको अभियोग पत्रमा उल्लेख छ।

मंसिर १२, २०८२ शुक्रबार ०७:४३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।