अपराजित रहँदै ‘प्लेअफ’मा पुग्ने लक्ष्य छ : विनोद भण्डारी
काठमाडौं : सुदूरपश्चिम रोयल्सका खेलाडी विनोद भण्डारीले आफ्नो टिम अपराजित रहँदै प्लेअफमा पुग्ने लक्ष्यमा रहेको बताएका छन्।
लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै लगातार चौथो जितसहित सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ। आज सम्पन्न खेलपछि सञ्चारकर्मीसँगको कुराकानीमा भण्डारीले अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा रहेको बताए।
'सुदूरपश्चिम साविक उपविजेता टोली समेत हो,' उनले भने, 'अहिलेलाई हाम्रो लक्ष्य अपराजित रहँदै प्लेअफमा पुग्ने हो। त्यसपछि मात्रै फाइनल र च्याम्पियनका लागि सोच्छौं।'
लुम्बिनीलाई ७ विकेटले हराएको खेलमा विनोदले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६९ रनको योगदान गरे । उनले ‘प्लेयर अफ दी म्याच’ पाए ।
सुदूरपश्चिम लगातार चौथो जित निकालेर ८ अङ्कका साथ शीर्ष स्थानमा छ। चारमध्ये एक खेल मात्रै जितेको लुम्बिनी दुई अङ्कसहित छैटौं स्थानमा छ। लुम्बिनीले प्लेअफमा पुग्न बाँकी तीन खेल जित्नै पर्ने दबाब छ।
मंसिर ११, २०८२ बिहीबार १६:५६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।