वकिल तथा शिक्षक भवानी विक्रम शंकरको हिजोको कुरा : कट्टु लगाएर स्कुल, घोडा चढेर बिहे

वकिल तथा शिक्षक भवानी विक्रम शंकरको हिजोको कुरा : कट्टु लगाएर स्कुल, घोडा चढेर बिहे

पेशाले कानुन व्यवसायी तथा पञ्चायतकालीन पूर्व शिक्षक/कर्मचारी हुन्- भवानी विक्रम शंकर। पाँचथरको रानीगाउँमा जन्मिएर गाउँकै स्कुलबाट एसएलसी दिएका उनलाई त्यतिबेला स्कुल ड्रेस नहुने सम्झन्छन्।

एसएलसीपछि आफू पढेकै ‘सिद्ध प्रावि’मा दुई वर्ष पढाएर उनी थप अध्ययनका लागि दुई दिन हिँडेर धरान झरे। त्यो समयमा तमोर नदीको करिडोर भएर धरान झर्नुपर्थ्यो। अहिले तीन घण्टामै धरान आउन सकिन्छ।

उनले जानेको, भोगेको र अनुमान गरेको भन्दा अहिले धेरै कुराहरू फेरिएका छन्। पञ्चायतकाल देखि प्रजातन्त्र हुँदै गणतन्त्रसम्मको व्यवस्था देशमा आइसकेको अवस्थामा, उनले भोगेका र देखेका अनुभवहरू ‘उकेरा’को ‘हिजोका कुरा’ कोलममा यसरी सुनाए:

कट्टु लगाएरै स्कुल
म वि.सं. २०२२ सालमा पाँचथरको कुम्मायक गाउँपालिका-४ मा जन्मिएको हुँ। म बस्ने ठाउँलाई ‘रानीगाउँ पञ्चायत’ भन्थे। मेरो घरको छेउमै ‘सिद्ध प्रावि’ स्कुल थियो, जहाँ मैले ५ कक्षासम्म पढेँ। त्यसपछि यासोक बजारको पृथ्वी माध्यमिक विद्यालयबाट मैले एसएलसी पास गरेको हुँ।

त्यतिबेलाका स्कुलहरू एकतले र खरले छाएका हुन्थे। पछि-पछि सरकारले स्कुलका लागि टिनको पाता दिन थालेपछि टिनका छाना हुन थालेका हुन्। उतिबेला कापीमा लेख्न पाइँदैन्थ्यो। केही कक्षा पास गरेपछि मात्रै कापीमा लेख्न लगाइन्थ्यो, नत्र कालोपाटीमै लेख्ने चलन थियो।

हाम्रो समयमा छोरा र छोरीलाई बराबरी नै पढाउने चलन थियो, विद्यार्थीहरूको उपस्थिति पनि राम्रै हुन्थ्यो। स्कुलको ‘ड्रेस’ यही भन्ने थिएन। हाफ कट्टु लगाइन्थ्यो तर खुट्टा खालि नै हुन्थ्यो।

हाइस्कुलमा पढ्न थालेपछि ‘अब त छोराहरूलाई अलिकति भए पनि ड्रेस दिनुपर्छ है’ भन्ने गाउँमा छलफल चल्यो। अनि विद्यालयले पनि ड्रेस अनिवार्य गर्यो। त्यतिबेला सुतीको कपडाको पेन्ट सिलाएर लगाइन्थ्यो।

हाम्रो ठाउँ चेतनशील भएर पनि होला, त्यस्तो विभेद भएको मैले पाइनँ। छोराछोरी सबैलाई बराबर जस्तै व्यवहार गर्थे। पूर्वपञ्चहरू र माथिल्लो ओहदामा बसेकाहरूले ‘स्कुलमा छोराछोरीलाई पढाउनुपर्छ’ भनेर एक खालको जागरण नै चलाएका थिए।

फेरि मेरो बुबाहरू पहिलेदेखि नै शिक्षित हुनुहुन्थ्यो। मेरो बुबा त पुरोहित पनि हुनुहुन्थ्यो। गाउँघरमा आफ्ना आफन्तहरूको बिहे, व्रतबन्ध लगायतमा बुबा जानुहुन्थ्यो।

घरमा बुबा नै पुरोहित भएपछि ‘छोराछोरी पढाउनुपर्छ’ भन्ने मान्यता थियो। अर्को कुरा, म चारवटी दिदीहरूपछि रहरले जन्मिएको छोरा। त्यसैले दिदीहरूलाई अलिअलि अक्षर मात्रै चिनाउने गरिए पनि मलाई भने बुबाआमाले ‘जति पढे पनि पढाउँछौँ’ भनेर लाग्नुभएको थियो। मैले बीएलसम्म पढेँ।

आफैँ पढेको स्कुलमा पढाएँ
एसएलसी सकेपछि म आफू पढेकै स्कुलमा शिक्षक भएर काम गरेँ। त्यो स्कुलमा मलाई तलब ३७५ रुपैयाँ आउँथ्यो। स्कुलमा पढाउन थालेको निकै समयपछि ‘उच्च शिक्षा हासिल गर्नुपर्छ’ भन्ने मनमा आयो।

स्कुलमा मात्र पढाउँदा भुल्लिने मेलो मात्रै हुन्छ भन्ने लागेपछि २ वर्षपछि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा पढ्न गएँ। त्यो बेला अहिलेको जस्तो ३ घण्टामै धरान पुगिने अवस्था थिएन। न गाडी, न केही! हिँडेरै धरान पुगिन्थ्यो।

तमोर नदीको तिरैतिर हिँडेर २ दिनपछि मात्रै धरान पुगिन्थ्यो। अहिले त मोटरगाडीमा तीन घण्टामै पुगिन्छ। त्यो समयमा त बास बस्दै जाने हो, उतिबेला हिँड्न निकै कठिन थियो।

त्यतिबेला किनेर खाने भन्ने नै केही हुँदैन थियो हाम्रोतिर। मलाई थाहा हुँदा होस् या स्कुल पढाउँदा, किनेर खाने पसलहरू विरलै हुन्थे। निकै पछि झापाबाट व्यापारीहरू आएका थिए।

उनकी श्रीमतीले चिया, सिङ्गडा, मालपुवा लगायतका परिकारहरू बनाउँथिन्। त्यो समयमा एउटा सिङ्गडा २५ पैसामा आउँथ्यो। त्यतिबेला हो हामीले किनेर खाएको, नत्र त घरकै खानेकुरा नै हो । अरू केही हुँदैन थियो।

विभेद भन्ने त थियो, तर हामी टेर्दैनथ्यौँ
मलाई थाहा हुँदा गाउँघरमा सबैको सम्बन्ध राम्रै थियो। जातका कुराहरू त आउँथे तर हाम्रा बुबाहरूले त्यहाँका साथीहरूलाई अलिक ‘सम्झाएर’ बस्नुभएको हुनाले त्यस्तो नराम्रो भोगाइ भएन। जातीय विभेदको कुराले खासै छोएन।

सबैसँग बराबर, काका, मामा यस्तै-यस्तै साइनो चल्थ्यो। त्यो बेला सामाजिक सद्भाव थियो। यद्यपि, त्यतिबेला जातजातिको कुरा नउठ्ने होइन, उठ्थ्यो। कतिपय मान्छेहरू जातकै कारण पीडित भएको सुनिन्थ्यो।

हामी त्यो विभेदको विरुद्धमा लडेका पनि थियौँ। जातीय सवालका विषयमा कुरा उठाउँदा एक पटक प्रहरीको फन्दामा पनि परेका छौँ। यो २०३७ सालतिरको कुरा हो।

हाम्रो यासोक बजारमा एकजना आचार्यको चिया पसल थियो। अरूलाई चाहिँ भित्र नै राखेर चिया-नास्ता दिन्थे, तर हामी तल्लो जात भनिएका साथीहरूसहितलाई चाहिँ बाहिर बस्ने बनाइएको थियो।

‘यिनीहरूले के गरेको हो, यो त राम्रो कुरा भएन’ भनेर हामीले आवाज उठायौँ। त्यतिबेला म विद्यार्थीको ‘लिडर’ जस्तै नै थिएँ। रिसको झोकमा केही गिलासहरू फुटाइयो। त्यो गरेपछि साहुले पुलिस बोलाए। पुलिसले समात्यो।

बेलुकापख त्यहाँका प्रधानपञ्चसहितको समाज प्रहरी चौकीमा आयो। ‘यो स्कुले बच्चाहरूलाई किन पक्रेर ल्याएको हो, छोडिदिनू’ भने । त्यो बेला ‘आइन्दा चुलोमा चाहिँ नजाने तर पसल भित्र बस्न मिल्ने’ कुरामा सहमति भयो र निस्किएर घर आइयो।

त्यो घटना दुई-चार गाउँ फैलिएछ। ‘त्यो यासोकमा त त्यस्तो पो घटना भयो अरे’ भन्ने चर्चा चल्यो। त्यो बाहेक अरू त खासै हामीले जातकै कारणले विभेदमा पर्नुपरेन। मान्छेहरू अलिक सचेत हुँदै पनि गए।

बिहेमा १२/१५ वटा घोडामा दुलही लिन गइयो
मेरो बिहे २०३७ सालमा भएको हो। त्यो बेला बिहेको मोडालिटी अनुसार खर्च हुन्थ्यो। कस्तो तरिकाको बिहे गरिँदैछ भन्ने कुराले फरक पार्थ्यो। गाउँ समाजमा अलिकति हाईफाई गरेर गरौँ भन्यो भने अलिक बढी नै खर्च हुन्थ्यो।

सामान्य तरिकाले गर्दा छरछिमेक बोलाएर भोजभतेर गर्दा त कति नै खर्च हुन्थ्यो होला र! बेहुला-बेहुली र घरपरिवारलाई अलिअलि लुगा र खसी/राँगा काट्नेसम्मका खर्च हुन्थे। मेरो बिहेमा कति खर्च भयो भन्ने कुरा ठ्याक्कै थाहा भएन। मेरो बिहे ठूलै भएको थियो, त्यतिबेला बढीमा ६० हजार जति भयो कि!

त्यतिबेला घोडा चढ्ने चलन थियो। १२/१५ वटा जति घोडा लिएर दुलही लिन गएका थियौँ। इष्टमित्रहरूलाई धेरैतिर निम्तो गरिएको थियो। नौमती बाजाहरू बजाउँदा पनि त्यो समयमा लगभग ६० हजार खर्च भयो होला।

त्यो बेला एउटा मौलिकता थियो। संस्कार र संस्कृतिलाई शिरमा राखेर बिहे गर्ने चलन थियो। रीतिथितिहरू थिए। अहिले सब औपचारिकताका लागि मात्र भयो। अलिकति देखावटीपन पनि बढ्यो।

पहिलेको तुलनामा अहिले गाउँमा भन्दा शहरमा बसाइँ सर्ने क्रम बढ्यो। गाउँमा पढे-लेखेका मान्छेहरू बस्न रुचाउन छाडे। पहिला पाका मान्छेहरू गाउँका चौतारामा, घरमा बसिन्थ्यो, छलफल हुन्थ्यो। अहिले त त्यो चलन निकै कम भयो। छँदै छैन त नभनौँ, तर पहिला हामीले देखेको तुलनामा अहिले निकै कम छ।

मंसिर ११, २०८२ बिहीबार १४:१४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।