सुदूरपश्चिमको कसिलो बलिङसामु लुम्बिनी लायन्स १४३ रनमै अलआउट

सुदूरपश्चिमको कसिलो बलिङसामु लुम्बिनी लायन्स १४३ रनमै अलआउट
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु जितका लागि १४४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्स १९.४ ओभरमा १४३ रन बनाउँदै अलआउट भयो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३६ बलमा ३ चौका प्रहार गरे।

त्यस्तै, दिलीप नाथले २९ बलमा ३१ रनको योगदान दिए। ओपनर डार्सी सर्ट र सुमित महर्जनले समान १८-१८ रन बनाए भने गुलबदिन नाइबले ११ रन जोडे।

एक समय ३ विकेट गुमाएर १०४ रनको बलियो स्थितिमा रहेको लुम्बिनीले अन्त्यतिर लगातार विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन। लुम्बिनीले अन्तिम ३९ रन जोड्दा आफ्ना ७ विकेट गुमाएको थियो।

लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिम रोयल्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। हरमित सिंह र अविनाश बोहराले ३-३ विकेट लिए।

हरमितले ३.४ ओभरमा २२ रन र अविनाशले ४ ओभरमा २६ रन खर्चे। यस्तै, हेमन्त धामीले २ विकेट तथा स्कट कुग्गेलेइनले १ विकेट हात पारे।

सुदूरपश्चिम रोयल्सले केही बेरमा १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।

मंसिर ११, २०८२ बिहीबार १३:३०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।