धर्मेन्द्रको निधनपछि हेमा मालिनी भावुक, भनिन्- ‘उहाँ मेरो सर्वस्व हुनुहुन्थ्यो, यो खालीपन बाँकी जीवनभर रहिरहनेछ’
एजेन्सी : बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको दुई दिनपछि उनकी पत्नी तथा अभिनेत्री हेमा मालिनीले भावुक हुँदै श्रद्धाञ्जली अर्पण गरेकी छन्।
सामाजिक सञ्जालमा एक मार्मिक पोस्ट सेयर गर्दै उनले धर्मेन्द्र आफ्नो लागि ‘सबैथोक’ भएको उल्लेख गरेकी छिन्।
धर्मेन्द्रसँगका तस्बिरहरू सेयर गर्दै हेमा मालिनीले लेखेकी छिन्, ‘धर्म जी मेरो लागि सबैथोक हुनुहुन्थ्यो। उहाँ एक माया गर्ने श्रीमान्, हाम्रा दुई छोरीहरू ईशा र आहानाका लागि स्नेही पिता, एक साथी, दार्शनिक, मार्गदर्शक र कवि हुनुहुन्थ्यो। मलाई आवश्यकता पर्दा म सधैँ उहाँकहाँ जान्थेँ, वास्तवमा उहाँ मेरो लागि सर्वस्व हुनुहुन्थ्यो।’
सुख र दुःखका हरेक पलमा धर्मेन्द्र सधैँ आफ्नो साथमा रहेको स्मरण गर्दै हेमाले उनको सरल र मिलनसार स्वभावका कारण आफ्नो परिवारका सबै सदस्यले उनलाई अत्यन्तै माया गर्ने गरेको बताएकी छन्।
हेमाले लेखेकी छिन्, ‘एक सार्वजनिक व्यक्तिका रूपमा उहाँको प्रतिभा र अपार लोकप्रियताको बाबजुद उहाँको विनम्रताले उहाँलाई अन्य दिग्गजहरूभन्दा अलग र अद्वितीय बनाएको थियो। फिल्म उद्योगमा उहाँको कीर्ति सधैँ रहिरहनेछ।’
पतिको वियोगमा निकै मर्माहत भएकी हेमाले आफ्नो पीडा शब्दमा बयान गर्न नसकिने बताएकी छन्।
उनले भनेकी छिन्, ‘मेरो व्यक्तिगत क्षति अवर्णनीय छ र उहाँको अनुपस्थितिले सिर्जना गरेको खालीपन मेरो बाँकी जीवनभर रहनेछ। वर्षौंको साथपछि, अब मसँग ती विशेष पलहरूलाई फेरि महसुस गर्नका लागि अनगिन्ती यादहरू मात्र बाँकी छन्।’
मंसिर ११, २०८२ बिहीबार १२:४९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।