सर्लाहीमा तरकारी खेतीबाटै वार्षिक १० लाख बचत गर्दै ३५ वर्षीय सीयाशरण
बरहथवा : सर्लाहीको लालबन्दीसहितको चुरे क्षेत्र तरकारी उत्पादनका लागि उर्वर भूमि मानिन्छ। यहाँ उत्पादित तरकारी काठमाडौं, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख शहरहरूसम्म पुग्छन्।
उत्पादनले सहजै बजार पाउन थालेसँगै यहाँ व्यावसायिक तरकारी खेती गर्ने किसानहरूको सङ्ख्या बढ्दो छ। तिनैमध्येका एक उदाहरणीय कृषक हुन्- लालबन्दी नगरपालिका-१०, हिरापुरका ३५ वर्षीय सीयाशरण महतो।
महतोले व्यावसायिक तरकारी खेतीबाटै वार्षिक १० लाख रुपैयाँ बचत गर्दै आएका छन्। २० वर्षको उमेरदेखि व्यावसायिक खेतीमा होमिएका महतोले पछाडि फर्केर हेर्नुपरेको छैन।
बुबा र हजुरबुबाबाट परम्परागत ज्ञान पाएका उनले खेतीलाई आधुनिक बनाउन छ महिने कृषि ‘जेटिए’ कोर्षसमेत पूरा गरेका छन्। मौसमीभन्दा बेमौसमी तरकारी खेतीमा १० गुणा बढी मुनाफा हुने उनको अनुभव छ।
महतोले हाल चार बिघा जमिनमा तरकारी खेती गरिरहेका छन्।
‘अहिले २५ कट्ठामा गोलभेँडा, सात कट्ठामा हरियो सिमी र आठ कट्ठामा भिन्डी लगाएको छु,’ महतोले भने, ‘यस सिजनको अन्त्यमा उत्पादन लिने गरी १४ कट्ठा खेतमा ‘कविता’ जातको गोलभेँडा रोप्ने तयारीसहित बेर्ना उत्पादन भइरहेको छ।’
पढाइको फुर्सदमा बुबाआमालाई सघाउँदा सघाउँदै कृषिमा आकर्षित भएका महतो भन्छन्, ‘बुबाले कम्तीमा एउटा छोराले जेटिए पढे हुन्थ्यो भन्ने चाहना राख्नुभयो। मेरो पनि यता लगाव बढ्यो। अहिले परिवारसँगै बसेर तरकारी बेच्दा विदेशको भन्दा राम्रो आम्दानी भइरहेको छ।’
मासिक दुई लाखसम्मको कारोबार
तरकारी खेतीकै आम्दानीबाट उनले दुई वर्षअघि पाँच कट्ठा जग्गा जोडेका छन्।
‘मेरो आयआर्जनको एक मात्र माध्यम तरकारी खेती हो,’ उनले भने, ‘राम्रो सिजनमा महिनाको दुई लाख रुपैयाँसम्म आम्दानी हुन्छ। गत वर्ष ‘अफ सिजन’मा सिमी बेच्दा दुई-तीन हप्तामै ६०-७० हजार रुपैयाँ कमाइ भयो।’
वर्षभरिमा मलखाद, बीउबिजन, औषधि, मजदुरी र ढुवानी खर्च कटाएर १० लाख रुपैयाँ बचत हुने उनले बताए। श्रीमतीको समेत साथ पाएका महतोले यही कमाइबाट छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिइरहेका छन्।
राष्ट्रिय कृषि गणना २०७८ अनुसार सर्लाहीमा १७ हजार ६६२ परिवारले तीन हजार ८४२ दशमलव सात हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन्।
जिल्लाको लालबन्दी, हरिवन, बाग्मती, ईश्वरपुर, हरिपुर, चन्द्रनगरलगायतका पालिकामा आलु, गोलभेँडा, बोडी, भिन्डी, भान्टा, काउली, बन्दा र परबरको व्यावसायिक उत्पादन हुने गरेको छ। रासस
मंसिर ११, २०८२ बिहीबार १०:३३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।