एनपीएलमा बिहीबारदेखि शनिबारसम्मका सबै खेलको टिकट ‘सोल्ड आउट’
काठमाडौं : जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आगामी तीन दिनका खेलहरूका लागि सबै टिकट बिक्री भइसकेका छन्।
दर्शकहरूको उच्च मागका कारण बिहीबार, शुक्रबार र शनिबार (२९ नोभेम्बर) का लागि तय भएका सबै खेलका टिकटहरू ‘सोल्ड आउट’ भएको आयोजकले जनाएको छ।
तालिका अनुसार बिहीबार पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
यस्तै, शुक्रबार चितवन राइनोज र काठमाडौं गोर्खाजबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सको सामना गर्नेछ।
सप्ताहन्तको बिदाको दिन शनिबार (नोभेम्बर २९) पनि दुई रोमाञ्चक खेलहरू हुनेछन्। बिहानको खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् भने दिउँसो जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
घरेलु क्रिकेटको सबैभन्दा ठूलो मानिएको यो लिगमा स्टार खेलाडीहरूको उपस्थिति र सहरमा बढेको क्रिकेट ज्वरोका कारण टिकटको माग अत्यधिक बढेको हो। तीनै दिन त्रिवि मैदान दर्शकले खचाखच भरिने निश्चित भएको छ।
मंसिर ११, २०८२ बिहीबार १०:०६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।