ट्रम्पको घोषणा : दक्षिण अफ्रिकालाई जी-२० सम्मेलनमा नबोलाउने र सबै सहयोग रोक्ने
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष अमेरिकामा हुने जी-२० शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई निमन्त्रणा नदिने घोषणा गरेका छन्।
बुधबार ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको सबै आर्थिक भुक्तानी र सहायता रोक्ने चेतावनी पनि दिएका छन्।
राष्ट्रपति ट्रम्पका अनुसार हालै दक्षिण अफ्रिकामा सम्पन्न जी-२० सम्मेलनको समापन समारोहमा त्यहाँको सरकारले अमेरिकी दूतावासका वरिष्ठ प्रतिनिधिलाई जी-२० को अध्यक्षता हस्तान्तरण गर्न अस्वीकार गरेको थियो। ट्रम्पले यस पटकको सम्मेलनमा वासिङ्टनबाट कुनै प्रतिनिधिमण्डल पठाएका थिएनन्।
आफ्ना प्रतिनिधिसँग गरिएको व्यवहारका कारण असन्तुष्ट ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भनेका छन्, ‘मेरो निर्देशनमा, दक्षिण अफ्रिकालाई २०२६ को जी-२० सम्मेलनका लागि निमन्त्रणा पठाइने छैन। यो सम्मेलन अर्को वर्ष फ्लोरिडाको मियामी सहरमा आयोजना हुँदैछ।’
यसबाहेक, ट्रम्पले दक्षिण अफ्रिकामा गोरा नागरिकहरूमाथि हिंसात्मक उत्पीडन भइरहेको गम्भीर आरोप लगाएका छन्। यद्यपि, दक्षिण अफ्रिकाले भने यी आरोपहरूलाई ‘निराधार’ भन्दै खण्डन गरेको छ।
जी-२० विश्वका प्रमुख अर्थतन्त्र भएका १९ देश, युरोपेली युनियन र अफ्रिकी संघ (२०२३ देखि) सम्मिलित समूह हो। सन् १९९९ मा एसियामा आएको आर्थिक संकटपछि विश्वव्यापी आर्थिक र वित्तीय मुद्दाहरूमा छलफल गर्न यसको स्थापना गरिएको थियो।
यस समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका सदस्य रहेका छन्।
मंसिर ११, २०८२ बिहीबार ०९:१६:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।