हङकङमा १७ वर्षयताकै भीषण आगलागी : ४४ जनाको मृत्यु, २७९ जना बेपत्ता

हङकङमा १७ वर्षयताकै भीषण आगलागी : ४४ जनाको मृत्यु, २७९ जना बेपत्ता

एजेन्सी : हङकङको ताई पो जिल्लास्थित ‘वाङ फुक कोर्ट’ हाउसिङ कम्प्लेक्सका अग्ला भवनहरूमा बुधबार दिउँसो भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ।

स्थानीय समयअनुसार दिउँसो २:५१ बजे सुरु भएको उक्त आगलागीमा परी हालसम्म कम्तीमा ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४५ जनाको अवस्था गम्भीर छ। घटनामा २७९ जना मानिसहरू अझै बेपत्ता रहेका छन्।

हङकङको अग्निनियन्त्रण विभागले यो घटनालाई ‘लेभल-५’ अर्थात् सबैभन्दा उच्च जोखिमको आगलागी घोषणा गरेको छ। हङकङमा विगत १७ वर्षपछि यति गम्भीर स्तरको आगलागी भएको यो पहिलो घटना हो।

आगलागीको यकिन कारणबारे अनुसन्धान भइरहेको भए पनि प्रहरीले भवन मर्मतका क्रममा झ्यालहरू बन्द गर्न प्रयोग गरिएको ‘पोलिस्टाइरिन बोर्ड’ का कारण आगो छिटो फैलिएको प्रारम्भिक अनुमान गरेको छ।

साथै, भवनमा बाँसको खट (मचान) प्रयोग गरिएकाले आगो एक भवनबाट अर्कोमा सल्किएको बताइएको छ। घटनामा लापरवाही गरेको आरोपमा प्रहरीले एक निर्माण कम्पनीका दुई जना निर्देशक र एक इन्जिनियरिङ कन्सल्टेन्ट गरी तीन जनालाई पक्राउ गरेको छ। यस दुखद् घटनाप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङले गहिरो समवेदना प्रकट गरेका छन्।

बिहीबार बिहानसम्म पनि केही टावरहरूबाट धुवाँ निस्किरहेको छ। आगलागी भएका आठवटा भवनमध्ये चारवटामा आगो नियन्त्रणमा आएको छ भने बाँकी स्थानमा आगो पूर्ण रूपमा निभाउन आज दिनभर लाग्न सक्ने दमकल विभागले जनाएको छ।

मंसिर ११, २०८२ बिहीबार ०८:१६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।