एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर बोल्ट्सले आमाको नाम अङ्कित जर्सी लगाउने
काठमाडौं : जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुईवटा रोमाञ्चक खेलहरू हुँदैछन्। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलहरूमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
पहिलो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। यस खेलमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ।
लगातार तीन जितका साथ ६ अङ्क जोडेको सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष स्थानमा छ। उता, तीन खेलमा एक जित मात्र हात पारेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ। आजको खेलमा लुम्बिनी बलियो सुदूरपश्चिमलाई पराजित गर्दै अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ।
दोस्रो खेल अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच हुनेछ। अनिल शाहको नेतृत्वमा रहेको जनकपुर र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा दुवै टोली यसअघिका खेलमा पराजित भएकाले आज पहिलो जितको खोजीमा मैदान उत्रिनेछन्।
आजको खेलमा जनकपुर बोल्ट्सले आमाहरूप्रति सम्मान अर्पण गर्दै विशेष जर्सी लगाउने घोषणा गरेको छ। जनकपुरका खेलाडीहरूले आ-आफ्नो आमाको नाम लेखिएको जर्सी लगाएर पोखरा विरुद्ध खेल्नेछन्। टोलीले आफ्ना खेलाडी ललित राजवंशीको आमाप्रति सम्मान व्यक्त गर्दै यो अवधारणा ल्याएको हो।
जनकपुर बोल्ट्सका अनुसार खेलपछि खेलाडीले लगाएका उक्त जर्सीहरू लिलामीमा राखिनेछ र त्यसबाट सङ्कलित रकम विभिन्न आमा समूहहरूलाई सहयोग स्वरूप हस्तान्तरण गरिनेछ।
जनकपुरको यो प्रयासलाई विपक्षी टोली पोखरा एभेन्जर्सले पनि स्वागत गरेको छ। पोखराका अध्यक्ष सुबोध त्रिपाठीले आमाहरूको सम्मानमा जनकपुरले गरेको कार्य सह्रानीय रहेको बताए।
त्रिपाठीले आफ्नो टोली पोखरा एभेन्जर्सले पनि जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिरहेको विषयमा विश्वसामु सन्देश दिइरहेको उल्लेख गर्दै आगामी दिनमा यस्तै सामाजिक कार्यमा अन्य टोलीसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
मंसिर ११, २०८२ बिहीबार ०७:१७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।