एनपिएल हेर्न दोहोरिएर काटिएको पैसा फिर्ता गर्दै डिसहोम गो, प्राविधिक समस्या समाधान भएको दाबी

एनपिएल हेर्न दोहोरिएर काटिएको पैसा फिर्ता गर्दै डिसहोम गो, प्राविधिक समस्या समाधान भएको दाबी

काठमाडौं : नेपाल प्रिमियर लिग हेर्न दोहोरो रकम तिरेका ग्राहकहरूको रकम फिर्ता सुरु भएको डिसहोम गोले जानकारी दिएको छ। प्रारम्भमा भएको प्राविधिक समस्याका कारण दोहोरो भुक्तानी गरेका ग्राहकहरूको रकम फिर्ता प्रक्रिया सुरु भइसकेको बताएको हो।

प्राविधिक समस्याका कारण परेको समस्याका लागि कम्पनीले माफी माग्दै दोहोरो भुक्तानी भएकाहरूको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भएको बताएको हो।

एनपिएलको उद्घाटन खेल दुई लाखभन्दा बढी दर्शकले हेरेको दाबी गर्दै उसले उद्घाटन खेलमा केही प्रयोगकर्ताहरूले प्रत्यक्ष प्रसारण हेर्न समस्या भए पनि सबै प्राविधिक समस्या समाधान भएको दाबी गरेको छ।

प्राविधिक समस्या डिसहोम गोको मात्र समस्या नभएर धेरै पक्षहरू संलग्न रहेको प्रणालीगत प्रक्रियाका कारण उत्पन्न समस्या भएको दाबी गरेको छ।

एनपीएल सिजन पासको सदस्यता खरिद प्रक्रियामा देखिएका प्राविधिक जटिलताले आईओएस प्रयोगकर्तामा समस्या भएको भन्दै उसले एन्ड्रोइड प्रयोगकर्ताहरूले भने सहजै सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सकेको दाबी गरेको छ।

डिसहोम गो एपका इन्जिनियर र विश्वस्तरीय सहयोगी कम्पनीका विशेषज्ञको पहलबाट धेरै समस्या समाधान भएको भन्दै उसले अहिले आईओएस प्रयोगकर्ताहरूले पनि सहज रूपमा एनपीएल सिजन पासको सदस्यता लिएर प्रत्यक्ष खेल हेर्न सक्ने बताएको छ।

दोस्रो र तेस्रो दिनको खेलमा लगभग सबै प्राविधिक समस्या समाधान भएको र डिसहोम गोका आधिकारिक च्यानलहरू मार्फत प्राप्त हजारौँ अनुरोधलाई प्रणालीबाट एकैचोटि सक्रिय गरिएको उसले जानकारी दिएको छ।

प्रत्यक्ष प्रसारणलाई थप सहज बनाउन बुधवारदेखि खल्ती तथा ईसेवा मार्फत एनपीएल सिजन पासको भौचर किन्न सकिने व्यवस्था गरेको उसले जानकारी दिएको छ। तर खल्ती र ईसेवाबाट किनेको भौचर नेपालमा मात्र प्रयोग गर्न सकिने छ।

मंसिर ११, २०८२ बिहीबार ००:०१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।