स्पिनर रञ्जित कुमारको अगाडि विराटनगरका ब्याटर निरीह, एनपिएलमा पहिलो हार
काठमाडौं : बायाँ हाते स्पिनर रञ्जित कुमारको पाँच विकेटको मद्दतमा चितवन राइनोजले एनपिएलको दोस्रो शृङ्खलामा अपराजित रहेको विराटनगर किंग्सलाई ४८ रनले पराजित गर्यो।
बुधवारको खेलमा लगातार जीत निकालिरहेको विराटनगरलाई हराएर चितवन ३ खेलपछि ४ अङ्कसहित प्रतियोगिताको प्रतिस्पर्धामा फर्किएको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रनको चुनौती दिएको थियो।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाएका थिए। उनले ३८ बलमा ३ चौका र ४ छक्कासहित प्रभावशाली पारी खेल्दै टोलीलाई बलियो स्कोरमा पुर्याए।
सैफ जैबले ३२, देव खनालले २८ तथा कप्तान कुशल मल्लले अविजित २० रन जोडेका थिए।
१ सय ७५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको विराटनगर चितवनका बलरसामु निरीह बन्दै १६.५ ओभरमा १ सय २६ रन बनाएर अलआउट भयो।
लोअर–अर्डरका मर्चेन्ट डे लाङको ३९ रन नै टिमको सर्वाधिक रन बन्यो। प्रतिश जिसीले ३० रन बनाए। तर अन्य ब्याटरहरू टिक्न सकेनन्। विराटनगरका ८ खेलाडी दोहोरो अंकको रन समेत बनाउन सकेनन्।
रञ्जित कुमारले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिँदै सिजनको पहिलो 'फाइभ–फर' आफ्नो नाम बनाए। उनीसँगै कमल सिंह ऐरीले २ विकेट लिए भने सोहेल तनवीर, सैफ जैव र कप्तान कुशल मल्लले एक–एक विकेट लिए।
विराटनगरका लागि मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले २/२ विकेट लिएका थिए। शुभम रन्जानले १ विकेट लिएका थिए।
यस अगाडि विराटनगरले लगातार तीन खेल जितेर ६ अंक जोडिसकेको छ। बुधवारको नतिजापछि उ ४ खेलमा ६ अंकमै रोकियो। चितवनले ३ खेलमा दुई खेल जितेर ४ अंक पाएको छ।
मंसिर १०, २०८२ बुधबार २२:३५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।