नेपालमा हराइरहेको ‘मिडल लेयर’

नेपालमा हराइरहेको ‘मिडल लेयर’

नेपालको राजनीति प्राय एउटै गोलचक्करमा घुमिरहेको छ।  पुराना दल र नेताहरू केही कमजोर हुन्छन्, नयाँ शक्तिको जन्म हुन्छ र केही सक्रिय देखिन्छन्। तर अन्त्यमा एक अस्थिर गठबन्धन जन्मन्छ। प्राय यसको कारण कमजोर नेतृत्व वा आन्तरिक कलहलाई देखाइन्छ। तर वास्तविक कारण गहिरो छ।

नेपालमा दैनन्दिन केन्द्रित राजनीति छैन। तल्लो तहसम्मको राजनीतिको प्रभाव प्रायः लेनदेनमा आधारित छ, जसबाट स्थायी लोकतन्त्रको प्रतिनिधित्व हुन सकेको छैन।

आन्दोलनले क्षणिक हलचल ल्याउँछ, निर्वाचनले अंकगणित फेरिन्छ तर नेतृत्वतह नवीकरण हुँदैन। संघीयता केन्द्रको अधिकार स्थानीय तहमा झार्ने र जवाफदेही बन्ने आशामा ल्याइएको थियो। तर व्यवहार खासै बदलिँदैन। प्रत्येक चक्रले तल्लो तहमा विश्वास निर्माण नगरी माथिल्लो तहमा मात्र शक्ति फेरबदल गर्छ। जनविश्वास नै पुनर्निर्माण हुँदैन।

वास्तवमा के भइरहेको छ?

तर यो रूपान्तरण होइन, यो ‘एलिट’ सन्तुलनको फेरबदल मात्र हो। संसदमा शक्ति सारेकोजस्तो देखिए पनि वास्तविक शक्ति सधैँ उही एकै घेराभित्र घुमिरहेको छ। नयाँ शक्ति प्रायः संगठन, अनुशासन र तल्लो तहको विश्वास बिना नै उदाउँछन्, तर एक असन्तुष्टिको छालबाट पनि टिक्न नसक्ने गरी आउँछन्।

गठबन्धन अस्थिरताको मूल कारण पनि यहीँ छ। जब कुनै दल वा आन्दोलनसँग गहिरो जनसमर्थन हुन्न त्यसपछि सौदाबाजीमा आधारित नेतृत्व आउँछ। सरकार जनादेशमा आधारमा हैन, अंकगणितका आधारमा बदलिन्छन्।

त्यसैले नेपालको राजनीति चर्को सुनिन्छ तर यथार्थमा सतही छ। सभा,र्याली, नाराबाजी र अनलाइन अभियानको दबाब बढ्छ। तर बिस्तारै, निरन्तर जनसम्पर्क गर्दै समस्या समाधान गर्ने प्रयासलाई राष्ट्रिय राजनीतिक संरचनाले बेवास्ता गर्छ।

हराएको मिडल लेयर

नेपालमा विश्वासको निर्माण व्यक्ति व्यक्तिसँगको निरन्तर भेटघाटबाट निर्माण हुन्छ। चुनाव वा आन्दोलनको समय मात्र देखिनेहरूलाई होइन पटक–पटक आफ्नो वरपर वा समुदायमा देखिने व्यक्तिलाई नागरिकले पछ्याउँछन् । तर दलहरूले आफ्नो समय र शक्ति यसमा लगानी गरेको देखिँदैन।

ब्यक्ती-ब्यक्तीसँगको राजनीतिक सम्बन्ध कमजोर छ। स्थानीय समितिहरू कागजमा देखिन्छन् तर निष्क्रिय छन्। संघीय इकाइहरू जनादेश निर्माणमा भन्दा स्थानीय स्रोत नियन्त्रणमा केन्द्रित छन्।

आक्रोशको क्षणमा नेतृत्व त जन्मन्छ, तर शासनको दायित्व पुरा गर्ने पक्षमा कमजोर हुन्छन्। विश्वसनीयतालाई भिजिबिलिटीले खाइदिन्छ। यही कारण जसरी राजनीतिमा नयाँ अनुहारहरू छिट्टै देखिन्छन् त्यसरी नै छिट्टै हराउँछन् पनि।

उदाउँदै गरेका नेताहरूका लागि चुनौती

भर्खरका आन्दोलनहरू वास्तविक र जरुरी थिए। तर दिगोपना कमजोर। यसको कारण निरन्तर दबाब दिने र नेतृत्वका लागि आवश्यक संरचना निर्माण नगरी  सिधै आन्दोलनमा होमिन्छन्। यसले आन्दोलनको वैधानिकता, नेतृत्वको गम्भीरता र वार्ता क्षमता जस्ता महत्त्वपूर्ण पक्षहरूलाई कमजोर बनाउँछ। अनि दबाब आयो भने टेकेर उभिने संरचनासम्म हुँदैन। 

त्यसैले त आज नागरिकहरू नयाँ शक्तिको उद्देश्यभन्दा बढी उनीहरुको ‘तत्परता’मा शङ्का गर्छन्। नयाँ शक्तिहरूले लेनदेनप्रधान राजनीति हटाउँदै तल्लो तहसम्म विश्वास बढाएर दिगो संगठन निर्माण गर्न सक्छन् वा आन्दोलनसँगै उनीहरू पनि सकिन्छन्? मुख्य प्रश्न यही हो अहिलेको पनि।

वास्तविक तस्बिर
नेपालमा राजनीतिक ऊर्जा हेर्ने हो भने कम छैन, कम छ त राजनीतिक ‘गहिराइ’ मात्र। त्यसैले विश्वास बढाउन तल्लो तहका नागरिकसँगको निरन्तर संलग्नताबिना हुने निर्वाचनहरूले फेरि पनि अस्थिर सरकार नै जन्माउने हो र, आन्दोलन समस्या समाधानमा असफल हुने हो।

त्यसैले  वास्तविक परिवर्तन अर्को र्याली वा मतदानबाट मात्र सम्भव हुन्न। यो तल्लो तहका नागरिकसँगको निरन्तर सम्पर्क र संवाद, विश्वास निर्माण र क्षणिक चर्चाहिन मिहिनेतबाट मात्र आउनसक्छ। यो अवस्थाको निर्माण नभएसम्म परिवर्तन ठूलो आवाजसहित आउनेछ तर चुपचाप हराउनेछ।

(सञ्चारकर्मी श्रेष्ठ ह्वाट्सएप च्यानल nepalexplained मा समसामयिक विषयबारे आफ्ना धारणा राख्न सक्रिय छन्। यो सामग्री उनको सोही च्यानलमा प्रकाशित अङ्ग्रेजीको नेपाली अनुवाद हो)

मंसिर १०, २०८२ बुधबार २०:०२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।