साम्राज्ञीको ‘इन्गेजमेन्ट’पछि विवाद, #S&B ले खोल्यो रहस्य
काठमाडौं : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो जन्मदिनको अवसर पारेर ‘इन्गेजमेन्ट’ का तस्बिरहरू सार्वजनिक गरिन्।
मंसिर २ गते उनले सार्वजनिक गरेको उक्त खुसीको खबरले फ्यानहरूमाझ उत्साह छायो र बधाईको ओइरो लाग्यो। तर, त्यो खुसी धेरै समय टिक्न पाएन।
सार्वजनिक भएका तस्बिर र त्यसपछिका खुलासाले उनी बधाईको साटो आलोचना र तनावको घेरामा परेकी छन्।
साम्राज्ञीको तनावको मुख्य कारण उनका हुनेवाला पतिको विगत हो। विशाल खरेल यसअघि नै विवाहित रहेको र उनीहरूको दुई वर्षको छोरासमेत रहेको तथ्य बाहिरिएपछि साम्राज्ञीलाई विवादमा तानिएको छ।
प्राप्त जानकारी अनुसार, विशालले करिब १५ वर्षअघि सुब्बा थरकी एक युवतीसँग विवाह गरेका थिए। उनीहरूको सन्तानका रूपमा दुई वर्षअघि छोराको जन्म भएको थियो।
यद्यपि, आपसी खटपटका कारण उनीहरू सम्बन्धविच्छेद गरेर अलग भइसकेका छन्। विशालकी पूर्वपत्नी हाल छोरासहित अमेरिकामा बस्दै आएकी छन्।
विशाल र साम्राज्ञीको विवाहको चर्चासँगै मिडियामा पूर्वपतिसँगको आफ्नो र छोराको तस्बिर आउन थालेपछि विशालकी पूर्वपत्नीले भिडियो सन्देशमार्फत स्पष्टीकरण नै दिनुपरेको छ। यसले पनि यो विषय थप पेचिलो बनेको हो।
#S&B ले खोलेको रहस्य
साम्राज्ञीले इन्गेजमेन्टको तस्बिरमा क्याप्सन लेख्दै ‘#S&B उल्लेख गरेपछि धेरैलाई जोडीबारे चासो बढेको थियो। चलचित्र वृत्तमा परिचितहरूले तुरुन्तै अनुमान लगाए- ती ‘बी’ अर्थात विशाल खरेल हुन्।
विशाल चलचित्र क्षेत्रका लागि अपरिचित नाम भने होइनन्। उनले चलचित्र ‘प्रेम दिवस’ मा अभिनय गरेका छन् भने साम्राज्ञीसँगै ‘हारेँ हारेँ’ र ‘मालती’ बोलको म्युजिक भिडियोमा पनि काम गरेका छन्।
धेरैले उनीहरूबीचको निकटता म्युजिक भिडियो सुटिङकै क्रममा बढेको अनुमान गरेका छन्, यद्यपि यसबारे दुवै पक्षले औपचारिक रूपमा केही बताएका छैनन्।
सार्वजनिक आलोचना र विशालको विगतलाई स्वीकार गर्दै साम्राज्ञीले विवाह प्रक्रिया अघि बढाउँछिन् वा यो सम्बन्धलाई यहीँ टुंग्याउँछिन्, त्यो भने हेर्न बाँकी नै छ।
मंसिर १०, २०८२ बुधबार १४:०३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।