गम्भीरको प्रशिक्षणमा भारतीय टेस्ट क्रिकेटको ऐतिहासिक पतन, ६६ वर्षयताकै खराब नतिजादेखि २५ वर्षपछिको हारसम्म

गम्भीरको प्रशिक्षणमा भारतीय टेस्ट क्रिकेटको ऐतिहासिक पतन, ६६ वर्षयताकै खराब नतिजादेखि २५ वर्षपछिको हारसम्म

एजेन्सी : दक्षिण अफ्रिकासँगको ४०८ रनको फराकिलो हारसँगै भारतीय टेस्ट क्रिकेट इतिहासकै सबैभन्दा नाजुक मोडमा पुगेको छ।

मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा भारतीय टोलीले एकपछि अर्को लज्जास्पद कीर्तिमानहरू आफ्नो नाममा लेखाइरहेको तथ्याङ्कहरूले देखाएको छ।

प्रशिक्षक गौतम गम्भीरको कार्यकालमा भारतीय टोलीले घरेलु मैदानमा आफ्नो दबदबा गुमाएको छ।

गम्भीरको नेतृत्वमा इतिहासमै पहिलो पटक ३ टेस्टको सिरिजमा भारत आफ्नै घरमा ‘क्लिन स्विप’ भएको छ। यो लज्जास्पद नतिजा २०२४ मा न्युजिल्याण्डविरुद्ध आएको थियो।

साथै, भारतले २५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज हारेको छ।

यसका अलावा सन् २०१५ पछि पहिलो पटक भारतले अष्ट्रेलियासँगको प्रतिष्ठित ‘बोर्डर-गावस्कर ट्रफी’ गुमाएको छ।

गम्भीरको प्रशिक्षणमा भारतले केवल वरीयतामा तल रहेका टोलीहरू (बंगलादेश र वेस्ट इन्डिज)विरुद्ध मात्र सिरिज जित्न सकेको छ। ठूला टिमहरूसँग भारत निरीह देखिएको छ।

पछिल्ला नतिजाहरूले भारतीय टोलीको प्रदर्शन कति खस्किएको छ भन्ने कुरा विगत सात महिनामा भारतले हारेको ५ वटा टेस्ट म्याचले पनि पुष्टि गर्छ।

भारतीय क्रिकेट इतिहासमा ६६ वर्षपछि पहिलो पटक यस्तो खराब प्रदर्शन देखिएको हो।

यसका अलावा दक्षिण अफ्रिकासँग गुवाहाटीमा बेहोरेको ४०८ रनको हार, रन अन्तरका आधारमा भारतको टेस्ट इतिहासकै सबैभन्दा ठूलो हार हो।

मंसिर १०, २०८२ बुधबार १३:२१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।