दक्षिण अफ्रिकाको ऐतिहासिक जित, २५ वर्षपछि भारतको घरेलु मैदानमै ‘क्लिन स्विप’
एजेन्सी : दक्षिण अफ्रिकाले गुवाहाटीमा भएको दोस्रो टेस्ट म्याचमा भारतलाई ४०८ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
योसँगै दक्षिण अफ्रिकाले २ खेलको टेस्ट सिरिज २-० ले जित्दै भारतलाई उसकै घरेलु मैदानमा ‘क्लिन स्विप’ गरेको छ।
दक्षिण अफ्रिकाले भारतमा टेस्ट सिरिजमा ‘क्लिन स्विप’ गरेको यो २५ वर्षपछि पहिलो पटक हो। यसअघि सन् २००० मा दक्षिण अफ्रिकाले भारतलाई २-० ले हराएको थियो।
बुधबार बरसापारा स्टेडियममा जितका लागि ५४९ रनको विशाल लक्ष्य पछ्याएको भारतीय टोली चौथो दिनको खेलमै १४० रनमा अलआउट भयो।
भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ५४ रन बनाए पनि अन्य ब्याट्सम्यान टिक्न सकेनन्। दक्षिण अफ्रिकाका स्पिनर साइमन हार्मरले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए भने केशव महाराजले २ विकेट लिए।
यसअघि दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिङ्स २६०/५ को अवस्थामा समाप्त (डिक्लियर) घोषणा गरेको थियो। दोस्रो इनिङ्समा ट्रिस्टन स्टब्सले ९४ रन बनाए।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ४८९ रनको विशाल स्कोर बनाएको थियो।
जसमा सेनुरन मुथुसामीले १०९ रन (शतक) र मार्को जानसेनले ९३ रन बनाएका थिए। जवाफमा भारतको पहिलो इनिङ्स २०१ रनमै समेटिएको थियो। पहिलो इनिङ्समा मार्को जानसेनले ६ विकेट लिएका थिए।
यसअघि कोलकातामा भएको पहिलो टेस्ट म्याचमा पनि दक्षिण अफ्रिकाले भारतलाई ३० रनले पराजित गरेको थियो।
मंसिर १०, २०८२ बुधबार १३:०७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।