नुवाकोटमा मोटरसाइकलको ठक्करबाट ८० वर्षीय वृद्धको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
नुवाकोट : नुवाकोटको विदुर नगरपालिका-५ पिपलटारमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ।
गल्छी-त्रिशुली सडक खण्डमा आइतबार साँझ ५:३० बजे गल्छीबाट बट्टारतर्फ आउँदै गरेको ग १८ प ६३७० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका स्थानीय ८० वर्षीय लिलानाथ कोइरालालाई ठक्कर दिएको थियो।
ठक्करबाट टाउको र खुट्टामा गम्भीर चोट लागेका कोइरालालाई तत्काल उपचारका लागि त्रिशुली अस्पताल लगिएको थियो।
उपचारकै क्रममा साँझ ६:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक लमजुङको सुन्दरबजार नगरपालिका-५ बस्ने २६ वर्षीय जीवन तामाङ र पछाडि सवार ३१ वर्षीय विष्णु थापा पनि घाइते भएका थिए।
उनीहरूको हातखुट्टामा चोट लागेकोमा उपचारपछि अवस्था सामान्य भई अस्पतालबाट डिस्चार्ज भएका छन्।
डिस्चार्ज लगत्तै प्रहरीले चालक तामाङ र पछाडि सवार थापा दुवैलाई नियन्त्रणमा लिएको छ। मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ भने मृतकको शव त्रिशुली अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
मंसिर १०, २०८२ बुधबार ११:३९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।