मुल्तान सुल्तान्सको स्वामित्व छोड्दै अली तारेन, पीसीबीसँगको विवाद उत्कर्षमा

मुल्तान सुल्तान्सको स्वामित्व छोड्दै अली तारेन, पीसीबीसँगको विवाद उत्कर्षमा

एजेन्सी : पाकिस्तान सुपर लिग (पीएसएल)को फ्रेन्चाइज टोली ‘मुल्तान सुल्तान्स’का मालिक अली तारेनले अब टोलीको स्वामित्व नवीकरण नगर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै उनले सात वर्ष लामो यात्रा टुंग्याएको जानकारी दिएका हुन्।

तारेनले पीएसएल व्यवस्थापनप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘शीर निहुराएर टोली चलाउनुभन्दा म शीर ठाडो पारेर टोली गुमाउन तयार छु।’

उनले मुल्तान सुल्तान्ससँगको आबद्धतालाई आफ्नो जीवनको ठूलो सम्मान बताएका छन्।

‘वर्षेनी आर्थिक घाटा व्यहोर्नुपरे पनि मैले कहिल्यै छोड्ने सोचिनँ, तर स्वाभिमानमा सम्झौता गर्न सकिनँ’, उनले भने।

पछिल्लो एक वर्षदेखि तारेन र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बीचको सम्बन्ध बिग्रिँदै गएको थियो। तारेनले पीएसएल व्यवस्थापनमा पारदर्शिता र दूरदर्शिताको अभाव रहेको आरोप लगाउँदै आएका थिए।

जवाफमा पीसीबीले उनलाई सम्झौता उल्लंघन गरेको भन्दै माफी माग्न र आलोचनात्मक पोस्टहरू हटाउन कानुनी पत्र पठाएको थियो।

तारेनले उक्त पत्रलाई च्यातेको भिडियो सार्वजनिक गर्दै व्यङ्ग्यात्मक जवाफ फर्काएका थिए। यही विवादका कारण उनलाई नवीकरणको प्रस्ताव समेत पठाइएको थिएन।

अन्य पाँच फ्रेन्चाइजले स्वामित्व नवीकरण गर्ने निर्णय गरे पनि मुल्तानको यो निर्णयले पीएसएलको ११औं संस्करणको तयारीमा असर परेको छ।

लिगमा ८ टोली पुर्याउने योजना रहेका बेला अब पीसीबीले दुई नयाँ टोलीसँगै मुल्तान सुल्तान्सका लागि पनि तेस्रो नयाँ मालिक खोज्नुपर्ने भएको छ।

तारेनले सन् २०१८ मा मुल्तान सुल्तान्सको यात्रा सुरु गरेका थिए। उनको कार्यकालमा टोली सन् २०२० को च्याम्पियन बन्यो भने लगातार चार पटक फाइनलमा पुग्न सफल भयो।

उनले फ्यानहरूलाई जुनसुकै मालिक आए पनि टोलीलाई दक्षिण पञ्जाबको सम्पत्तिको रूपमा माया गरिरहन आग्रह गरेका छन्।

मंसिर १०, २०८२ बुधबार ११:२३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।