विवादित बन्यो एनपीएलको अम्पायरिङ : ११ खेल सकिँदा दुई दर्जन बढी गलत निर्णय, खेलाडी र प्रशिक्षककै चर्को असन्तुष्टि
काठमाडौं : भव्य रूपमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा खेलको रोमाञ्चकतासँगै अम्पायरिङको स्तरमाथि गम्भीर प्रश्नहरू उठ्न थालेका छन्।
लिगको ११औं खेलसम्म आइपुग्दा अम्पायर तथा टेलिभिजन (टीभी) अम्पायरबाट दुई दर्जनभन्दा बढी गलत निर्णयहरू भइसकेका छन्। हरेकजसो खेलमा अम्पायरका निर्णयहरू विवादित बन्न थालेपछि खेलाडी र प्रशिक्षकहरूले खुलेरै असन्तुष्टि पोखेका छन्।
अम्पायरले ‘वाइड’ दिएको बलमा ब्याटर आफैँ ‘आउट’ भएको स्वीकार गर्दै पेभिलियन फर्किएको घटनादेखि टेलिभिजन रिप्लेमा प्रष्ट देखिने ‘नो बल’ र ‘एज’ समेत अम्पायरले ठम्याउन नसकेपछि प्रतियोगिताको गुणस्तरमाथि नै प्रश्न चिन्ह खडा भएको छ।
ब्याटर आफैँ हिँडेपछि अम्पायरको निर्णयमा प्रश्न
अम्पायरिङको कमजोरी कुन हदसम्म पुगेको छ भन्ने उदाहरण पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेलमा देखियो। पोखराका बलर म्याट टेलरले विराटनगरका ब्याटर बसीर अहमदविरुद्ध ‘कट बिहाइन्ड’ को जोडदार अपिल गरे। तर, फिल्ड अम्पायर बुद्धिबहादुर प्रधानले त्यसलाई अस्वीकार गर्दै ‘वाइड’ दिए।
तर, अचम्मको दृश्य त्यतिबेला देखियो जब ब्याटर बसीर अहमद अम्पायरले नटआउट (वाइड) दिँदादिँदै पनि आफू आउट भएको थाहा पाएर आफैँ पवेलियन फर्किए। यो घटनाले खेलाडीको इमानदारिता त देखायो नै, साथसाथै एनपीएलको अम्पायरिङ स्तर कति कमजोर छ भन्ने पनि छर्लङ्ग पारिदियो।
टीभी अम्पायरको ‘ब्लन्डर’ र खेलाडीको आक्रोश
अम्पायरिङको मुद्दामा सबैभन्दा बढी विवादित र तनावपूर्ण बनेको खेल चितवन राइनोज र लुम्बिनी लायन्सबीचको हो। यस खेलमा टीभी अम्पायर विनयकुमार झाबाट भएका गम्भीर त्रुटीहरूले खेलको नतिजामै प्रभाव पार्ने अवस्था सिर्जना गर्यो।
लुम्बिनीका ओपनिङ ब्याटर सन्दीप जोरा क्याचआउट हुँदा रिजन ढकालको खुट्टाले पपिङ क्रिज पार गरेको (नो बल) टीभी रिप्लेमा देखिएको थियो। तर, टीभी अम्पायर झाले त्यसलाई नो बल दिनुपर्नेमा आउट नै सदर गरिदिए।
त्यस्तै, अर्को ठूलो विवाद लुम्बिनीका कप्तान रोहित पौडेलको स्टम्पिङमा भयो। कुशल मल्लको बलमा रोहितलाई गरिएको स्टम्पिङ चेक गर्न टीभी अम्पायर झाले झन्डै ६-७ मिनेट समय लगाए। लामो समय रिप्ले हेरेर पनि उनले रोहितलाई ‘नटआउट’ दिए। तर, रिप्लेमा रोहितको खुट्टा लाइनभित्र नरहेको स्पष्ट देखिन्थ्यो।
यो निर्णयपछि चितवनका विदेशी खेलाडीहरू रवि बोपारा र डेविड मलानले अनफिल्ड अम्पायरसामु आश्चर्य जनाए। चितवनका विकेटकिपर अर्जुन साउदले त टीभी अम्पायरको निर्णयप्रति व्यंग्य गर्दै ताली बजाएर आफ्नो असन्तुष्टि व्यक्त गरे।
खेलपछि रवि बोपाराले भने, ‘निर्णय लिनका लागि आवश्यक सबै प्रविधि उपलब्ध हुँदाहुँदै पनि गलत निर्णय हुनु आइडियल होइन। स्टम्पिङ र एलबीडब्लूका निर्णयहरू क्लोज थिए तर हाम्रो पक्षमा भएनन्। यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ।’

जीवनदान पाएका लुम्बिनीका कप्तान रोहित पौडेलले भने यसलाई मानवीय त्रुटिका रूपमा लिए।
उनले भने, ‘म आउट थिएँ कि थिइनँ, त्यो मलाई थाहा भएन। तर विपक्षी टोलीमा भएको भए मलाई पनि नरमाइलो लाग्थ्यो। यहाँ विदेशी अम्पायरहरू पनि हुनुहुन्छ, तर निरन्तर गल्ती भइरहेको छ। अर्को सिजन डीआरएस भयो भने अझै मद्दत हुन्छ।’

रिजन ढकालमाथि कारबाही
अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदा चितवनका तीव्र गतिका बलर रिजन ढकाल कारबाहीमा परेका छन्।
लुम्बिनीविरुद्धको खेलमा रोहित पौडेलविरुद्धको अपिल अम्पायरले नसुनेपछि उनले मैदानमा लडीबुडी गरेर आक्रोश पोखेका थिए। नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई लेभल १ को कसुर गरेको भन्दै चेतावनीसहित १ डेमेरिट अंक काट्ने निर्णय गरेको छ।
उनी कारबाहीमा परेपछि काठमाडौं गोर्खाजका कप्तान समेत रहेका अर्का फास्ट बलर करण केसीले समेत व्यङ्ग्य गर्दै स्टोरी राखेका थिए।
काठमाडौं र सुदूरपश्चिम: गल्तीहरूको शृंखला
काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीचको खेलमा गल्तीहरूको शृंखला नै चल्यो। श्रीलंकाली अम्पायर प्रगिथ रम्बुकवेलाले जोस ब्राउनलाई एलबीडब्लू आउट दिए, जबकि करण केसीको बलमा ब्याटको ठूलो ‘एज’ लागेर बल प्याडमा ठोकिएको थियो।
केही समयपछि तिनै अम्पायर रम्बुकवेलाले अर्को गल्ती गरे। सन्नी पटेलको बलमा आरिफ शेखको ब्याटमा लागेर बल विकेटकिपर जोहन सिम्पसनको हातमा पुगेको थियो, तर अम्पायरले ‘कट बिहाइन्ड’ को अपिल स्वीकारेनन्।
विडम्बना, काठमाडौंका विकेटकिपर जोहन सिम्पसन आफैँ पछि गलत निर्णयको शिकार भए। इशान पाण्डेको बलमा उनलाई एलबीडब्लू दिइयो, जबकि बल ग्लोभ्समा लागेर गएको थियो।
सिम्पसनले तत्कालै डीआरएसको संकेत गरे पनि एनपीएलमा डीआरएस नहुँदा उनी पवेलियन फर्कन बाध्य भए। आउट भएर जाने क्रममा काठमाडौंका सन्नी पटेलले पनि अम्पायरसँग लामो प्रतिवाद गरेका थिए।
यद्यपि, काठमाडौंका प्रशिक्षक मोन्टी देसाइले भने कूटनीतिक जवाफ दिए।
उनले भने, ‘अम्पायरहरूले आफ्नो भूमिका जसरी राम्रो हुन्छ, त्यसरी नै निभाउन खोजिरहेका छन्। म त्यता कहिल्यै जान चाहन्नँ। यो ब्याट र बलले खेलिने खेलमा केन्द्रित हुने कुरा हो।’

सुदूरपश्चिम, कर्णाली र पोखराका खेलमा पनि उस्तै हाल
अम्पायरिङको विवाद अन्य खेलहरूमा पनि उस्तै रह्यो। सुदूरपश्चिम र कर्णाली याक्सबीचको खेलमा अम्पायरले विल बोसिस्टोलाई गलत तरिकाले ‘कट बिहाइन्ड’ आउट दिएपछि कर्णालीका प्रशिक्षक राजु बस्न्यात आक्रामक रूपमा प्रस्तुत भए।
उनले भने, ‘यत्रो ठूलो टुर्नामेन्टमा एउटा म्याच हार्दाखेरि सबैलाई घाटा हुन्छ। अम्पायरबाट लगातार गल्तीहरू भइरहेका छन्। एम्पायरिङको गुणस्तरमा विचार गर्नुपर्छ।’

यस्तै, सुदूरपश्चिम र पोखरा एभेन्जर्सबीचको खेलमा कुशल भूर्तेलले बाउन्ड्री लाइनमा उत्कृष्ट डाइभ हान्दै क्याच लिएका थिए। तर, टीभी अम्पायरले बाउन्ड्री छोएको भन्दै छक्का करार दिएपछि भूर्तेलले मैदानमै चर्को आक्रोश पोखेका थिए।
चितवनको पहिलो खेलमा कमलसिंह ऐरीको बलिङमा प्रियान्क पञ्चाल स्पष्ट एलबीडब्लू हुँदा पनि आउट दिइएन, जसको फाइदा उठाउँदै पञ्चालले ९० रन बनाएका थिए।
सन्दीप लामिछाने र जय ट्रफी
अम्पायरिङको विवाद नेपाली क्रिकेटमा नयाँ भने होइन। गत वर्ष पुसमा मधेश प्रदेशमा भएको ‘जय ट्रफी’ मा बागमती प्रदेशको कप्तानी गरेका क्रिकेटर सन्दीप लामिछानेले पनि अम्पायरिङको गुणस्तरमाथि प्रश्न उठाएका थिए।
त्यतिबेला सामाजिक सञ्जालमा उनले लेखेका थिए, ‘खेलको निष्पक्षता र खेलाडीहरूको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण छ। आशा छ सम्बन्धित निकायले ध्यान दिनुहुनेछ र आवश्यक सुधारको लागि पहल गर्नुहुनेछ।’

उनले अम्पायरको गलत निर्णयका कारण खेलाडीहरू प्रभावित भइरहेको र कप्तानले रेफ्रीलाई रिपोर्ट गरे पनि सुधार नभएको गुनासो गरेका थिए। तर, यो अभिव्यक्तिका कारण नेपाल क्रिकेट संघ (क्यान) को आचारसंहिता २.७ उल्लंघन गरेको भन्दै सन्दीपमाथि एक घरेलु खेलको प्रतिबन्ध लगाइएको थियो।
जय ट्रफीमा सञ्जय गुरुङ, विनयकुमार झा, बासु कर्ण, बुद्धिबहादुर प्रधान लगायत सबै नेपाली अम्पायरहरू थिए।
प्रविधि छ, तर प्रयोगमा चुके अम्पायर
नेपाल प्रिमियर लिगमा हाल ‘डिसिजन रिभ्यु सिस्टम’ प्रविधि छैन। यसले गर्दा एलबिडब्लु र एज लागेका निर्णयहरूमा अनफिल्ड अम्पायरको फैसला नै अन्तिम हुन्छ। तर, नो-बल, रनआउट र स्टम्पिङ चेक गर्नका लागि उच्च गुणस्तरका चारवटा क्यामेराहरू राखिएका छन्।
विडम्बना के छ भने, प्रविधिको सहायता लिन मिल्ने ठाउँमा समेत टीभी अम्पायरहरू चुकेका छन्। विगतमा कमजोर क्यामेराका कारण अम्पायरका गल्तीहरू लुक्थे भने अहिले उच्च गुणस्तरको प्रसारणले दर्शकहरूलाई घरमै बसेर अम्पायरको गल्ती औंल्याउन सजिलो भएको छ।
अनि अर्को कुरा, अहिले एनपीएलमा नेपाली मात्र नभएर दुई श्रीलंकाली अम्पायरहरू (रवीन्द्र विमलासिरी र प्रगीथ रम्बुकवेल्ला) पनि छन्। तर विदेशी अम्पायरहरूबाट समेत गलत निर्णयहरू आउँदा लिगको गरिमामा आँच पुगेको छ।
खेलाडीहरू कारबाहीको डरले खुलेर बोल्न सकिरहेका छैनन् भने दर्शक र प्रशिक्षकहरूले अम्पायरिङ सुधारको माग गरिरहेका छन्।
मंसिर १०, २०८२ बुधबार ०९:१५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।