एनपीएलमा लगातार चौथो जितको खोजीमा विराटनगर, आज चितवनसँग भिड्दै

एनपीएलमा लगातार चौथो जितको खोजीमा विराटनगर, आज चितवनसँग भिड्दै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बुधबार विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजे सुरु हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर जारी लिगमा उत्कृष्ट लयमा देखिएको छ। लगातार तीन खेलमा जित निकाल्दै विराटनगर अंक तालिकाको दोस्रो स्थानमा छ।

टोलीले यसअघि पोखरा एभेन्जर्सलाई ५३ रन, काठमाडौं गुर्खाजलाई ५ विकेट र साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको थियो। चितवनविरुद्ध पनि विराटनगर जितको यो लय कायमै राख्ने लक्ष्यमा हुनेछ।

यता, दुई खेलबाट दुई अंक जोडेको चितवन राइनोज तालिकाको चौथो स्थानमा छ। पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्ससँग ६ विकेटको हार व्यहोरेको थियो।

यसअघि मंगलबार भएको खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको थियो।
 

मंसिर १०, २०८२ बुधबार ०७:१८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।