होस्टेल रिटर्न्स भन्दा अगाडि भद्रगोलमा अभिनय गरेकी थिइन् स्वस्तिमाले, तर नाम भने छैन

होस्टेल रिटर्न्स भन्दा अगाडि भद्रगोलमा अभिनय गरेकी थिइन् स्वस्तिमाले, तर नाम भने छैन

काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्काको अभिनय यात्राको उल्लेख गर्दा गीत अनि फिल्मको सूची मात्र बन्छन्। १० वर्षअघि फिल्म ‘होस्टेल रिटर्न्स’ एलिना पात्रको भूमिकामा अभिनय गरेकी उनको अभिनय यसैबाट प्रारम्भ भएको मानिन्छ।

यो उनको पहिलो फिल्म हो त पहिलो अभिनय भने हैन। यो फिल्म भन्दा अगाडि त्यो बेलाको चर्चित टेलिश्रृंखला ‘भद्रगोल’मा समेत उनले अभिनय गरेकी थिइन्। भद्रगोलको ६६ औँ एपिसोड हेर्ने हो भने उनको अभिनय देख्न सकिन्छ।

भ्यालेन्टाइन डेको छेको पारेर बनाइएको टेलीश्रृंखलामा लभ स्टोरीमा उनको अभिनय घुमाइएको थियो। उनले अभिनय गरे पनि क्रेडिट लाइनमा भने उनको नाम छैन।

त्यो समयमा अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) यो टेलिश्रृंखलाका मुख्य सहायक निर्देशकको रूपमा काम गर्थे। लेखन पनि उनीहरूकै थियो भने निर्देशकका  रूपमा शंकर आचार्य थिए।  

टेलिश्रृंखलामा अभिनय गर्नुअघि एक वर्षअघि अर्थात् सन् २०१४ मा सिने गुरुङको ‘मधुरो रात’मा मोडलिङ गरेकी थिइन् उनले। त्यसपछि लगातार केही गीतको भिडियोमा अभिनय गरेकी स्वस्तिमाको फिल्मको अभिनय ‘होस्टेल रिटर्न्स’बाट प्रवेश भयो। त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन।

यो फिल्मपछि उनले लगालग ‘लव लव लव’,‘छक्का पन्जा २’, ‘नाइँ नभन्नु ल ५’हुँदै लगायतका फिल्ममा अभिनय गर्ने मौका पाइन्। फिल्म निर्माता निश्चल बस्नेतसँग विवाह गरिन्।

पछिल्लो समय रिलिज भएको फिल्म ‘हरिबहादुरको जुत्ता’देखि छायाङ्कन भइरहेको फिल्म ‘लालीबजार’सम्म आइपुग्दा उनले अभिनयमा फराकिलो यात्रा पार गरिसकेकी छन्। फिल्म ‘बेहुली फ्रम मेघौली’बाट उनले फिल्म निर्माणमा समेत प्रवेश गरिन्। तर पहिलो प्रयास त्यति सफल भएन। हलले शो नदिएको भन्दै बिचैमा फिल्म उतारेर उनी ओटिटीतिर लागिन्।

मंसिर ९, २०८२ मंगलबार २२:४६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।