एनपिएल : लुम्बिनीलाई हराउँदै काठमाडौँ अंक तालिकाको तेस्रो नम्बरमा

एनपिएल : लुम्बिनीलाई हराउँदै काठमाडौँ अंक तालिकाको तेस्रो नम्बरमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ। मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्दै अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ।

पहिले ब्याटिङ गरेको काठमाडौँले २० ओभर पूरा हुँदै ८ विकेट गुमाएर १५८ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो।

इन्निङ्सको महत्त्वपूर्ण क्षण नवौँ नम्बरमा ब्याटिङ गर्न आएका कप्तान करण केसीले ११ बलमा ४ छक्का र १ चौकासहित अविजित ३४ रनको इनिङ्स खेलेका थिए। ओपनर आकाश त्रिपाठीले ३२ रन र सन्तोष यादवले २६ रन जोडेका थिए।बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, शेर मल्ल, रोहित पौडेल र गुल्बादिन नइबले दुई–दुई विकेट लिएका थिए।

१ सय ५९ रनको लक्ष्य पछ्याउन मैदान ओर्लिएको लुम्बिनी लायन्स १९.१ ओभरमै १ सय ३५ रनमा समेटियो। टिमका लागि शेर मल्लले सर्वाधिक २७ रन र दिलीप नाथले २५ रन बनाए, तर अन्य खेलाडीको निराशाजनक प्रदर्शनले लक्ष्य पुरा हुन सकेन।

काठमाडौँको तर्फबाट मिलिन्द कुमार र जेरार्ड एरासमसले २–२ विकेट लिए। करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले १–१ विकेट लिएका थिए।

गोर्खाज् पुग्यो तेस्रो नम्बरमा
मंगलबारको जीतसँगै चार खेलमा दुई जितसहित काठमाडौँ गोर्खाज ४ अंक पाएर आठ टिममा तेस्रो स्थानमा पुगेको छ। उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो। लुम्बिनी भने लगातार दुई खेलमा पराजित भएर दबाबमा परेको छ।

काठमाडौँको यो जितले टिमलाई प्लेअफको दौडमा मजबुत बनाएको छ भने लुम्बिनी लायन्सका लागि बाँकी खेल अब निर्णायक बन्न पुगेका छन्। लुम्बिनीको लगातार दोस्रो हारपछि अंक तालिकामा छैटौँमा पुगेको छ। सातौँमा जनकपुर र आठौँमा पोखरा एभेन्जर्स छ।

मंगलबारको खेलपछि सुदूरपश्चिम तीन खेलमा तीनै जितेर ६ अंक साथ पहिलो नम्बरमा छ। विराटनगर किङग्सले पनि तीन खेल जितेको छ। रनरेटको आधारमा उ दोस्रो नम्बरमा छ। तेस्रोमा काठमाडौं छ भने चौथोमा तीनमा एक खेल जितेर दुई नम्बरसहित कर्णाली याक्स छ। एक खेल जिते पनि रनरेटको आधारमा चितवन राइनोज अंक तालिकामा पाँचौँमा छ।

मंसिर ९, २०८२ मंगलबार २०:२८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।