‘परालको आगो’को रिलिज वैशाखमा,सुहानाको गाउँले लुक्स

‘परालको आगो’को रिलिज वैशाखमा,सुहानाको गाउँले लुक्स

काठमाडौं : सुहाना थापा अभिनीत फिल्म ‘परालको आगो’को सुटिङ सकिएको छ। निर्माण टिमले मंगलबार फिल्मको चार वटा गीतसहित छायाङ्कनको काम सकिएको जानकारी दिएको हो।

उनीहरूले सुटिङ सेटका तीन तस्बिर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति अर्को वर्ष वैशाख ११ गतेलाई तोकेका छन्। फिल्मका निर्माता सुशील पोखरेलले फिल्मलाई आगामी वैशाख ११लाई तोकेको बताए।

निर्माण पक्षले सार्वजनिक गरेको तीन तस्बिरमा सुहाना थापा लजालु,गाउँले परिवेशकी युवतीको भूमिकामा देखिएकी छिन्। गत भदौ २६ गतेबाट निर्माण टिमले फिल्मको छायाङ्कन म्याग्दीबाट थालेको थियो। ४५ दिनको सेड्युल लिएर खिचेको यो फिल्म ४० दिनमा नै सकिएको निर्माता पोखरेलले बताए।

उनका अनुसार यो फिल्म आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने छ। यसै वर्ष प्रदर्शनमा ल्याउने हल्ला चलेको यो फिल्मले अर्को वर्षलाई डेट रोजेको छ। चैत २७ गतेसम्म धेरै फिल्म रहेकाले उनले वैशाख ११ गतेलाई प्रदर्शन मिति रोजेका हुन्।

“एकैचोटी धेरै फिल्म हलमा निर्माता तथा हल ब्यवसायीहरुको पनि धेरै नोक्सानी हुन्छ,”उनले मिडियासँगको कुराकानीमा भने, “ग्यापमा आउँदा निर्माता र हल दुबैपक्षलाई फाइदा होस् भन्ने सोचले सबै मेजर डेट छोडेर वैशाख ११ गते शुक्रवारको साधारण डेटलाई डेटलक गरेको छु।”

गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको यो फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपानेका साथै बाल कलाकार एन्जिला बानिया रहेकी छन्।

मंसिर ९, २०८२ मंगलबार १८:३५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।