सुधनलाई बेवकुफ भनेकी गायिका ज्योतिको जेनजी पुस्तालाई सटाएर : म देशद्रोही सिक्दैछु, कानुन मिच्न सिक्दैछु
काठमाडौं : गीतमा प्रयोग हुने दोहोरो अर्थ लाग्ने शब्द अनि स्टेजमा देखिने प्रस्तुतिले गायिका ज्योति मगर प्राय आलोचनाको केन्द्रमा पर्ने गरेकी छिन्। तर पछिल्ला उनका केही अन्तर्वार्ता अनि सामाजिक सञ्जालमा उनले लेख्ने धारणाले 'यी कलाकारलाई राजनीतिबारे के थाहा छ र' भन्नेहरूलाई राम्रै जवाफ दिइरहेकी छिन्।
पहिला उनी सामाजिक सञ्जालहरूमा आफ्ना तस्बिर राख्ने लगायतका सामान्य गतिविधिमा मात्रै केन्द्रित हुन्थिन्। अहिले पनि राजनीतिक होस् या सामाजिक अनि मनोरञ्जन क्षेत्रको अवस्थाबारे लेखिरहेकी हुन्छिन्।
जेनजी आन्दोलन अगाडि माओवादी, एमाले वा कांग्रेस र त्यसका नेता, सरकारको कार्यशैली, गणतन्त्र र राजतन्त्रबीचको भिन्नताबारे उनले निकै सटिक धारणा राख्दै आएकी थिइन्। उनका विचार खै पाराको हुन्न, निकै सचेत अभिव्यक्ति देखिन्छ। जेनजी आन्दोलनपछिका उनका अन्तर्वार्ताहरूमा उनले आफ्ना राजनीतिक धारणा निकै प्रस्ट रूपमा राख्ने गरेकी छिन्। उनका धारणाहरू मुख्य रूपमा अहिले राजनीतिमा सक्रिय हुने प्रयासमा रहेका जेनजी पुस्ता केन्द्रित देखिने गरेका छन्।
दुई साता अगाडि प्रकाश सुवेदीको कार्यक्रममा उनले सुधन गुरुङको एटिट्युडबारे टिप्पणी गर्दै र्याप समूहका सदस्यहरूले गाँजालाई शिवबुटीको रूपमा प्रयोग गर्ने गरेको र त्यसले किशोर उमेरकाहरुमा गलत सन्देश गइरहेको टिप्पणी गरेकी थिइन्। उनले आचरणले पनि किशोर उमेरकाहरुलाई प्रभाव पार्ने गरेको भन्दै सुधनको एटिट्युडबारे आलोचना गरेकी थिइन्।
उनले सुधनबारे "इमेच्योर, इमोसनल अनि बेवकुफ" भनेकी थिइन्। उनले सुधनले के गरौँ संविधान फाल्दिउँ क्या हो भनेको अनि एक एक जना मार्छु ल भनेको विषयमा टिप्पणी गर्दै सुझाव दिएकी थिइन् "सेन्सेटिभ हुनु पर्यो। देशको अवस्था के छ भन्ने बुझ्नु पर्यो।"
उनले बालेन शाहबारे समेत आलोचना गर्दै जनगुनासो नसुन्ने तर नगर प्रहरी राखेर सिंघम पारा देखाउने गरेको भन्दै आलोचना गरेकी थिइन्।
मंगलबार उनले सामाजिक सञ्जालमार्फत पुन जेनजी आन्दोलनपछिको अवस्थाबारे राजनीतिक सटाएर लेखिन्। पछिल्लो समय जसले संविधान मान्दैन, जसले कानुन मान्दैन उही देशभक्तको रूपमा चिनिएको अनि जसले संविधान र कानुन मान्छ उसलाई चैँ देशद्रोही भनेको भन्दै फेसबुकमा लेखिन् " अबको मेरो उद्देश्य भनेको अमेरिकन यूथ काउन्सिलिङको सदस्यता लिने, बारबरा फाउन्डेसनसङ्ग सहकार्य गर्ने अनि हामी नेपालको टिमसँग पानी बाँड्न जाने। यति भएपछि म भन्दा राष्ट्रवादी र म भन्दा बलियो नेपाली को हुन सक्छ।"
उनले अगाडि लेखेकी छिन्" पैले नै यो कुरा थाहा भएको भए आज म पनि खतरै नेता या मन्त्री बन्ने रैछु। बेकारमा देश, संविधान, कानुन मान्नुपर्छ भन्दै सो कल्ड गाइने भैयो त्यो पनि यो समाज को नजर मा छाडा... । गाइज प्लिज हेल्प गर्नु न यती, मलाइ नि सदस्यता दिलाउनु परो, म देशद्रोही गर्न सिक्दै छु। म कानुन मिच्न नि सिक्दै छु। चाडै म देश जलाउने बमसम बनाउन, पड्काउन नि सिकिहाल्छु...।"
मंसिर ९, २०८२ मंगलबार १८:२६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।