निर्वाचनको वातावरण बनाउन सरकारलाई दबाब दिनेछौं : प्रचण्ड

निर्वाचनको वातावरण बनाउन सरकारलाई दबाब दिनेछौं : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले सच्चा कम्युनिष्ट र लोकतन्त्रवादीहरू आफ्नो पार्टीमा जोडिने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेपालमा विद्यमान राष्ट्रिय संकटको अवस्थाको सामना गर्ने शक्ति निर्माण गरिने बताए। 

प्रचण्डले जनताको अधिकारलाई फेरि स्थापित गर्ने उद्देश्यका साथ पार्टी अगाडि बढाइएको दाबी गरे। उनले सरकारलाई निर्वाचनको वातावरण बनाउन दबाब सिर्जना गर्ने बताए। जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएकोले यसलाई सहज बनाउन सरकारलाई निर्वाचनको वातावरण बनाउनका लागि पहल लिन उत्प्रेरित गर्ने उनको भनाइ थियो।

उनले भने, ‘जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको छ। यस्तो बेला आउन लागेको निर्वाचनको लागि वातावरण बनाउन जनतालाई अपिल गर्ने छौं। राजनीतिक दलहरूलाई अपिल गर्ने छौं र सरकारलाई निर्वाचनको वातावरण बनाउन पहलका लागि उत्प्रेरित गर्नेछौं। दबाब पनि सिर्जना गर्ने छौं र देशमा अहिले देखा परेको असहज अवस्थालाई सहज बनाउन अगाडि बढ्ने छौं।’

साथै, उनले नेपाली कम्युनिष्ट पार्टी देशमा साँच्चिकै रोजगारी सिर्जना गर्ने, कृषि पर्यटन, उद्योग र ऊर्जालगायत सबै क्षेत्रमा व्यापक सुधार गर्न नयाँ आर्थिक क्रान्ति गर्ने उद्देश्यका साथ विदेशमा रहेका नेपालीहरूको लागि काम गर्नेतर्फ लागेको पनि बताए।

मंसिर ९, २०८२ मंगलबार १७:२५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।